सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । कलाकार तथा गतिशील लोकतान्त्रिक पार्टीबाट काठमाडौं–५ की प्रतिनिधिसभा सदस्य उम्मेदवार नीशा अधिकारीले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेकी छन् । ‘सगरमाथा देखि सदनसम्म’ नारासहित सार्वजनिक गरिएको घोषणापत्रमा उनले दिगो रोजगारी, महिला सहभागिता, सुरक्षित पूर्वाधार, सिर्जनशील अर्थतन्त्र र ज्येष्ठ नागरिकको सम्मानलाई प्रमुख एजेन्डाका रूपमा अघि सारेकी छन् । घोषणापत्र सार्वजनिक गर्दै अधिकारीले नेपालमा रोजगारी संकट केवल बेरोजगारीको संख्या नभई दिगो र सम्मानजनक कामको अभाव भएको उल्लेख गरेकी छन् । उनले उद्यम दर्ता तथा अनुमति, कर तथा सेवा प्रक्रियालाई सरल, पारदर्शी र पूर्ण डिजिटल (पेपरलेस) बनाउने प्रतिबद्धता जनाएकी छन् । ‘उद्यम सुरु गर्न महिनौँ होइन, दिनहरू लाग्ने व्यवस्था हुनुपर्छ,’उनले भनिन् । साथै, सडक, बिजुली र इन्टरनेटसरह अत्यावश्यक आर्थिक पूर्वाधारका रूपमा कानुनी मान्यता दिनुपर्नेमा उनले जोड दिएकी छन् । महिलाको अर्थपूर्ण सहभागिता र स्वास्थ्य अधिकारलाई घोषणापत्रको दोस्रो प्राथमिकतामा राख्दै अधिकारीले महिलाको उपस्थिति निर्णय तहमा सुनिश्चित गर्न नीतिगत सुधार आवश्यक रहेको बताइन् । महिनावारी, प्रजनन स्वास्थ्य, हर्मोनसम्बन्धी समस्या र रजोनिवृत्तिसम्बन्धी सेवाहरूलाई जीवनचक्रअनुकूल स्वास्थ्य सेवाका रूपमा सरकारी तथा निजी बीमामा समेट्नुपर्ने उनको प्रस्ताव छ । तेस्रो एजेन्डाअन्तर्गत उनले सुरक्षित पूर्वाधार, स्वस्थ वातावरण र दिगो सहरी जीवनको विषय उठाएकी छन् । भू–आकृतिअनुसारको पूर्वाधार डिजाइन, अनिवार्य वातावरणीय प्रभाव मूल्यांकन, गुणस्तरीय निर्माण सामग्री र स्वतन्त्र प्राविधिक अनुगमनलाई कडाइका साथ लागू गर्नुपर्ने उनले बताइन् । खाद्य दूरी घटाउने ‘फुड म्यापिङ’ नीति, स्वच्छ यातायात, धुलो नियन्त्रण र हरित क्षेत्र विस्तारमार्फत काठमाडौं उपत्यकाको वायु प्रदूषण नियन्त्रण गर्नुपर्नेमा पनि उनले जोड दिइन् । खेलकुद, कला र सिर्जनशील क्षेत्रलाई आर्थिक पूर्वाधारका रूपमा मान्यता दिनुपर्ने उनको चौथो एजेन्डा रहेको छ । कलाकार, खेलाडी र सिर्जनशील श्रमिकका लागि सामाजिक सुरक्षा, बीमा र बौद्धिक सम्पत्ति अधिकार सुनिश्चित गर्न कानुनी ढाँचा स्पष्ट गर्नुपर्ने उनले उल्लेख गरिन् । नेपाललाई दक्षिण एशियाको तटस्थ केन्द्रका रूपमा विकास गरी अन्तर्राष्ट्रिय खेलकुद तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्न सकिने सम्भावनालाई उपयोग गर्नुपर्ने उनको धारणा छ । ज्येष्ठ नागरिकको स्वाभिमान, सम्मान र सुरक्षित बुढ्यौलीलाई पाँचौँ एजेन्डाका रूपमा अघि सार्दै उनले वृद्धावस्थाकेन्द्रित स्वास्थ्य सेवा र सामाजिक सुरक्षाको सुदृढीकरण आवश्यक रहेको बताएकी छन् । अधिकारीले सञ्चार माध्यम, टेलिभिजन र चलचित्र क्षेत्रमा दुई दशकभन्दा बढी समय काम गरेकी छन् । उनले अभिनय गरेको फिल्म ‘सुनगाभा’ नेपालबाट ओस्कर अवार्डका लागि सिफारिस भएको थियो । राजनीति शास्त्रमा स्नातक र स्नातकोत्तर अध्ययन पूरा गरेकी अधिकारी हाल त्रिभुवन विश्वविद्यालयमा द्वन्द्व, शान्ति तथा विकास विषयमा एमफिल अध्ययनरत छन् । साथै, उनले सगरमाथा र किलिमान्जारो सफलतापूर्वक आरोहण गरिसकेकी छन् । आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै अधिकारीले आफूलाई नागरिकका आवाजलाई सदनसम्म पु¥याउने उम्मेदवारका रूपमा प्रस्तुत गरेकी छन् ।