सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले नेपालको असंलग्न परराष्ट्र नीतिलाई थप सुदृढ गर्दै राष्ट्रिय हित, सार्वभौमसत्ता र भौगोलिक अखण्डतालाई सर्वोच्च प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेको छ । पार्टी कार्यालय पेरिसडाँडामा आज आयोजित कार्यक्रममा सार्वजनिक गरिएको प्रतिबद्धता पत्रमा छिमेकी देशहरूसँगको सम्बन्धलाई प्राथमिकता दिई पारस्परिक सम्मान, विश्वास र लाभमा आधारित सन्तुलित सम्बन्ध विकास गर्ने लक्ष्य राखेको हो । लिपुलेक, लिम्पियाधुरा, कालापानी जस्ता सीमा विवादहरू कूटनीतिक वार्ता र अन्तर्राष्ट्रिय कानुनका आधारमा समाधान गर्ने, सीमा व्यवस्थापन र नियमनलाई आधुनिक र प्रभावकारी बनाउने उल्लेख गर्दै प्रतिबद्धता पत्रमा भनिएको छ – संयुक्त राष्ट्रसङ्घ, सार्क, बिमस्टेकलगायत बहुपक्षीय मञ्चहरूमा नेपालको सक्रिय र सशक्त उपस्थिति कायम राखिने छ । त्यसैगरी असमान सन्धि–सम्झौताको पुनरावलोकन गरी पारस्परिक लाभमा आधारित नयाँ सम्झौताहरू गर्ने र आर्थिक कूटनीतिलाई प्राथमिकता दिई वैदेशिक लगानी, निर्यात प्रवर्द्धन, प्रविधि हस्तान्तरण, पर्यटन र रोजगारीका अवसर बढाउने नीति प्रतिबद्धता पत्रमा उल्लेख छ । जलवायु परिवर्तन, हिमालय संरक्षण, पर्वतीय मुद्दा र भूपरिवेष्टित राष्ट्रका साझा हितमा अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालको आवाज सशक्त बनाउने विषयलाई प्रतिबद्धता पत्रमा उल्लेख गरेको छ भने गैरआवासीय नेपालीहरूको सीप, पूँजी, अनुभव र विशेषज्ञतालाई नेपालको विकासमा उपयोग गर्ने नीति तथा संरचना निर्माण गरिने प्रतिबद्धता व्यक्त गरेको छ । वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारको हकहित, सुरक्षा र सामाजिक सुरक्षाको अन्तर्राष्ट्रिय समन्वय गरी अनुमोदित सबै अन्तर्राष्ट्रिय मानव अधिकार सन्धि तथा महासन्धिहरूको पूर्ण कार्यान्वयन नीति प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ ।