अर्थमन्त्रीद्वारा रुकुम पश्चिम र जाजरकोटको निर्वाचन तयारी अनुगमन

शनिबार, माघ २४, २०८२

काठमाडौं । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले रुकुम पश्चिम र जाजरकोट जिल्लाको निर्वाचन तयारीको स्थलगत अनुगमन गरेका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचन तयारी अनुगमन कार्यक्रम अन्तर्गत अर्थमन्त्री खनालले हिजो (शुक्रबार) दुवै जिल्लाको भ्रमण गरेका हुन् । भ्रमणका क्रममा उनले प्रमुख जिल्ला अधिकारीसहित जिल्लास्थित चारवटै सुरक्षा निकायका प्रमुखहरूसँग निर्वाचन तयारी, सुरक्षा व्यवस्था तथा निर्वाचन आचारसंहिता पालनाको अवस्थाबारे जानकारी लिएका थिए । रुकुम पश्चिममा भएको अनुगमनका क्रममा प्रमुख जिल्ला अधिकारी दिनेशप्रसाद थानीले निर्वाचन आचारसंहिता पालनाको अवस्था सन्तोषजनक रहेको जानकारी गराउँदै २१ वटा मतदान स्थललाई अति संवेदनशीलका रूपमा वर्गीकरण गरिएको बताए । त्यस अवसरमा अर्थमन्त्री खनालले जिल्ला निर्वाचन कार्यालयको समेत भ्रमण गरी मुख्य निर्वाचन अधिकृत दिपेन्द्र थापा मगर र जिल्ला निर्वाचन अधिकारी मोहनलाल के.सीसँग छलफल गर्दै हालसम्मको निर्वाचन तयारीबारे जानकारी लिएका थिए । त्यसैगरी जाजरकोट जिल्लाको अनुगमनका क्रममा प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले निर्वाचन आचारसंहिता पालनाको अवस्था सन्तोषजनक रहेको र १६ वटा मतदान केन्द्रलाई अति संवेदनशीलमा वर्गीकरण गरिएको जानकारी अर्थमन्त्रीलाई गराएका थिए । अर्थमन्त्रीले खनालले जिल्ला निर्वाचन कार्यालयको स्थलगत भ्रमण गरी मुख्य निर्वाचन अधिकृत दुर्गाप्रसाद खनाल र जिल्ला निर्वाचन अधिकारी रामलाल प्याकुरेलसँग निर्वाचन तयारीको अवस्थाबारे छलफल गरेका थिए । दुवै जिल्लाको अनुगमनपछि अर्थमन्त्री खनालले निर्वाचन तयारी सन्तोषजनक रूपमा अघि बढिरहेको, स्थानीय तहमा राजनीतिक दल तथा उम्मेदवारबीच स्वच्छ प्रतिस्पर्धाको वातावरण बनेको र आम मतदाताले भयरहित रूपमा निर्वाचनमा सहभागी हुन सक्ने अवस्था रहेको बताएका छन् ।

प्रकाशित मिति: शनिबार, माघ २४, २०८२  ११:५२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार