सोसल मिडिया
Contact Us
युनिकोड
उर्लाबारी । नेपाली कांग्रेस मोरङ–१ का प्रतिनिधिसभा उम्मेदवार खड्ग फागोले राजनीतिलाई सत्ता प्राप्तिको दौडभन्दा माथि उठेर जनजीवनसँग प्रत्यक्ष जोडिएको सेवा र जिम्मेवारीको विषयका रूपमा परिभाषित गरेका छन् । चुनावी प्रतिस्पर्धालाई व्यक्ति वा दल केन्द्रित बहसमा सीमित गर्नुको सट्टा यस क्षेत्रले भोग्दै आएका संरचनागत समस्या र विकासका अधुरा पूर्वाधारसँग जोड्नुपर्ने उनको धारणा छ । ‘मेरो प्रतिस्पर्धा भनेको नै यस क्षेत्रको समस्या हो, विकासका पूर्वाधारको काम हो,’ फागोले चुनावी भेटघाटका क्रममा मिक्लाजुङ स्थित रमितेमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै भने । उनका अनुसार मोरङ–१ का नागरिकले रोजगारी, शिक्षा, स्वास्थ्य, कृषि र शहरी व्यवस्थापनजस्ता आधारभूत विषयमा अझै पनि स्पष्ट समाधानको अपेक्षा गरिरहेका छन् । फागोले मोरङ–१ लाई आर्थिक, शैक्षिक र सामाजिक रूपमा सन्तुलित विकासको मोडेल बनाउन सकिने सम्भावना रहेको उल्लेख गरे । तर त्यसका लागि योजना कार्यान्वयन र दीर्घकालीन सोच आवश्यक हुने उनको भनाइ छ । ‘विकास सडक र भवनले मात्र नापिँदैन, नागरिकको जीवनस्तर कति सहज भयो भन्ने कुराले नापिन्छ,’उनले भने । पूर्व जनप्रतिनिधिको अनुभवले आफूलाई व्यवहारिक राजनीति गर्न सिकाएको फागोको भनाइ छ। नीति निर्माण कागजमा आकर्षक देखिए पनि कार्यान्वयनको चुनौती स्थानीय तहमा काम गर्दा प्रत्यक्ष अनुभूति गरेको उनले बताए। त्यसैले अबको राजनीति भाषणमुखी होइन, नतिजामुखी हुनुपर्ने उनको जोड छ । उनले युवाको वैदेशिक पलायनलाई क्षेत्रको गम्भीर समस्याका रूपमा उल्लेख गर्दै स्थानीय तहमा रोजगारी सिर्जना गर्न नसकेसम्म विकासको अर्थ नहुने बताए । कृषि क्षेत्रलाई प्रविधिसँग जोड्दै उत्पादन र बजारको सुनिश्चितता गर्न सके युवालाई गाउँमै रोक्न सकिने उनको तर्क छ । स्वास्थ्य र शिक्षाको सवालमा फागोले पहुँच मात्र होइन, गुणस्तर मुख्य चुनौती भएको औँल्याए । ‘अस्पताल भए पनि सेवा नपाउने, विद्यालय भए पनि गुणस्तरीय शिक्षा नपाउने अवस्था अन्त्य हुनुपर्छ,’ उनले बताए । राजनीतिक संस्कारबारे बोल्दै फागोले असहिष्णुता र गुटबन्दीले विकासको गतिलाई अवरुद्ध बनाउने बताए । व्यक्तिगत प्रतिस्पर्धाभन्दा साझा लक्ष्यमा केन्द्रित हुन सके मात्र जनताको विश्वास जित्न सकिने उनको भनाइ छ । नेपाली कांग्रेस अहिले संगठनात्मक पुनर्संरचनाको चरणमा रहेको उल्लेख गर्दै उनले यसले कार्यकर्तामा नयाँ ऊर्जा थपेको दाबी गरे ।