समानुपातिकतर्फ ३ हजार १३५ उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, अब उम्मेदवार फेर्न नपाइने 

मंगलबार, माघ २०, २०८२

काठमाडौं । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको अन्तिम बन्दसूची सार्वजनिक गरेको छ । आयोगको केन्द्रीय कार्यालयमा आइतबार बसेको बैठकले ६३ राजनीतिक दलका तर्फबाट प्रस्तावित ३ हजार १३५ उम्मेदवारको नामावलीलाई अन्तिम रूप दिएको हो । आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका  अनुसार सार्वजनिक सूचीमा महिलाको संख्या पुरुषको तुलनामा बढी छ । जसमा १ हजार ७३२ महिला र १ हजार ३६३ पुरुष उम्मेदवार कायम भएका छन् । संवैधानिक व्यवस्थाअनुसार दलहरूले बुझाएको बन्दसूचीमा खस आर्य, आदिवासी जनजाति, थारू, दलित, मधेशी र मुस्लिम समुदायको क्लस्टर मिलाउनु पर्ने प्रावधानलाई आयोगले कडाइका साथ जाँचबुझ गरेको थियो । यसअघि दलहरूले पेश गरेका सुरुवाती सूचीमा दोहोरिएका नाम, दाबी–विरोध तथा कागजात अपुग भएका उम्मेदवारहरूको नाम हटाएर यो अन्तिम विवरण सार्वजनिक गरिएको हो । आयोगले  बन्दसूचीको विस्तृत विवरण र उम्मेदवारको व्यक्तिगत विवरण वेबसाइटमा राखेको छ । मिश्रित निर्वाचन प्रणाली अन्तर्गत प्रतिनिधिसभाका २७५ सदस्यमध्ये ११० जना समानुपातिक पद्धतिबाट निर्वाचित हुने संवैधानिक व्यवस्था छ । यस प्रणालीमा मतदाताले उम्मेदवारलाई नभई राजनीतिक दललाई मतदान गर्छन् । दलहरूले प्राप्त गरेको कुल सदर मतका आधारमा सिट बाँडफाँड गरिन्छ । निर्वाचन ऐन, २०७४ अनुसार दलहरूले कुल उम्मेदवारमध्ये कम्तसमा ५० प्रतिशत महिला र तोकिएको जनसंख्याको अनुपातमा क्लस्टर मिलाउनुपर्ने अनिवार्य व्यवस्था छ । आयोगले अन्तिम सूची सार्वजनिक गरेसँगै अब यी उम्मेदवारहरूले निर्वाचन प्रचारप्रसार गर्न पाउनेछन् तर बन्दसूचीमा नाम रहेका व्यक्तिहरूले अब नाम फिर्ता लिन पाउने छैनन् ।
 

प्रकाशित मिति: मंगलबार, माघ २०, २०८२  २०:२६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार