निर्वाचनको परिणाम स्वीकार्य, तर असंवैधानिक चलखेल अस्वीकार्य : रवि लामिछाने

मंगलबार, माघ २०, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले निर्वाचनबाट आउने जनमतलाई स्वीकार गर्ने स्पष्ट धारणा व्यक्त गर्दै त्यसको आडमा कुनै पनि प्रकारको दबाब, धम्की वा असंवैधानिक अभ्यास स्वीकार्य नहुने बताएका छन् । उनले राजनीतिक दलहरूबीच जस्तोसुकै गठबन्धन बने पनि अन्तिम निर्णय मतदाताबाटै हुने उल्लेख गरेका छन् । सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै लामिछानेले वर्तमान राजनीतिक अवस्थालाई निर्णायक मोडको रूपमा चित्रण गरेका छन् । उनका अनुसार देश गहिरो परिवर्तनको चरणमा प्रवेश गरिसकेको छ र त्यसलाई रोक्ने प्रयास सफल नहुने संकेत उनले दिएका छन् । उनले पुराना राजनीतिक शक्तिहरूलाई खुलेआम वा गोप्य रूपमा जस्तोसुकै गठबन्धन गर्न स्वतन्त्र रहेको उल्लेख गर्दै त्यसको परीक्षण निर्वाचनमार्फत हुने बताएका छन् । लामिछानेले निर्वाचन परिणाम स्वीकार गर्ने प्रतिबद्धता दोहोर्‍याउँदै जनआन्दोलन र मतदाताको चाहनाबाट विस्थापित भइसकेको पुरानो संसदीय संरचनालाई पुन:स्थापित गर्न खोजिने कुनै पनि प्रयास अस्वीकार्य हुने स्पष्ट पारे । उनका अनुसार यस्ता गतिविधि षड्यन्त्रपूर्ण, दबाबमूलक वा धम्कीका माध्यमबाट अघि बढाइए पनि स्वीकार गरिने छैन । उनले आगामी फागुन २१ गतेलाई साधारण निर्वाचन मितिभन्दा फरक अर्थ बोकेको दिनका रूपमा व्याख्या गर्दै त्यस दिनपछि बन्ने संसद् नयाँ राजनीतिक अभ्यासको प्रतिनिधि हुनुपर्ने धारणा राखेका छन् । उनका अनुसार सत्तापक्षसँगै प्रतिपक्षसमेत नयाँ सोच र पात्रद्वारा प्रतिनिधित्व हुनु आवश्यक छ ।

प्रकाशित मिति: मंगलबार, माघ २०, २०८२  १८:२८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार