समानुपातिक बन्दसूचीका ७६ जना उम्मेदवार अयोग्य ठहर

मंगलबार, माघ २०, २०८२

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले समानुपातिक प्रणालीअन्तर्गत दलहरूले पेस गरेका बन्दसूचीबाट ७६ जना उम्मेदवारलाई अयोग्य ठहर गरेको छ । आयोगले कानुनी मापदण्ड पूरा नगरेका, दोहोरो नाम समावेश भएका तथा आर्थिक तथा प्रशासनिक कारणले अयोग्य ठहरिएका उम्मेदवारहरूको नाम सूचीबाट हटाएको हो । निर्वाचन आयोगका अनुसार नाम हटाइएकामध्ये सबैभन्दा धेरै २१ जना कर्जा सूचना केन्द्रको कालोसूचीमा परेका छन् भने २५ जनाको नाम प्रदेश सभा सदस्यको समानुपातिक बन्दसूचीमा समेत दोहोरिएको पाइएको छ । यस्तै, आयोगले तोकेको जरिवाना नतिरेका १० जना, २५ वर्ष उमेर पूरा नगरेका ४ जना र मतदाता नामावलीमा नाम समावेश नभएका १ जनालाई पनि अयोग्य ठहर गरिएको छ । साथै, पिछडिएको क्षेत्रको कोटाअन्तर्गत नपर्ने २ जना, महिला उम्मेदवार हुनुपर्ने स्थानमा पुरुष उम्मेदवार पेस गरिएको १ जना तथा सम्बन्धित राजनीतिक दलको अनुरोधमा नाम हटाइएका १० जना रहेका छन्। एकभन्दा बढी कारणका आधारमा अयोग्य ठहरिएका उम्मेदवारको संख्या २ रहेको आयोगले जनाएको छ । निर्वाचन आयोगले कानुनको कडाइका साथ पालना गर्दै बन्दसूचीको अन्तिम रुप दिइने जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, माघ २०, २०८२  ११:३५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार