सुनसरी–२ मा प्रतिनिधिसभा निर्वाचन : त्रिपक्षीय भिडन्तले रोचक बन्दै चुनावी माहोल

सोमबार, माघ १९, २०८२

विराटनगर । सुनसरी क्षेत्र नम्बर २ मा आगामी प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा प्रमुख राजनीतिक दलहरू आ–आफ्नो रणनीतिसहित मैदानमा उत्रिएका छन् । घरदैलो अभियान, संगठन परिचालन र मतदाता भेटघाटले क्षेत्रको राजनीतिक तापक्रम बढिरहेको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका उम्मेदवार राजीव कोइराला यतिबेला घरदैलो अभियानलाई तीव्र बनाउँदै मतदाताको घर–घरमा पुगिरहेका छन् । अभियानका क्रममा कोइरालाले ‘कांग्रेस बदलिएको छ, म बदलिएको कांग्रेसको संकल्प पूरा गर्न आएको हुँ’ भन्दै आफूलाई परिवर्तनको वाहकका रूपमा प्रस्तुत गरिरहेका छन् । कांग्रेसभित्र अनुभवी, इमान्दार र शालीनताको छवि बनाएका कोइरालाले स्थानीय तहदेखि केन्द्रसम्मको राजनीतिक अनुभव बटुलेका छन् । नेपाली कांग्रेसको केन्द्रीय सदस्य बनिसकेका र कोशी प्रदेश संसदीय दलको पूर्व नेतका रुपमा समेत काम गरेका कोइरालालाई अनभव बटुलेका युवामैत्री उम्मेदवारका रुपमा हेर्ने गरिएको छ । कोइरालासँगै चुनावी अभियानमा सक्रिय नेपाली कांग्रेस इटहरीका सचिव विक्रम घिमिरे ले पार्टी यसपटक संगठित, अनुशासित र परिणाममुखी ढंगले चुनावमा होमिएको दाबी गर्छन् । ‘हामीले निश्कलंक पात्रलाई मैदानमा लिएर आएका छौं । विषेश महाधिवेशनपछि बदलिएको कांग्रेसको देश बदल्ने शंकल्प लिएर घरदैलो गरिरहेका छौं,’ उनले नेपाल न्यूजबैंकसैग भने ।

एमालेको युवा कार्ड र संगठनको बल

अर्को प्रमुख दल नेकपा एमालेले सुनसरी–२ मा सुजन लामालाई उम्मेदवार बनाएको छ । युवा संघ कोशी प्रदेश अध्यक्षसमेत रहेका लामाले युवालाई केन्द्रमा राख्दै संगठन चलायमान बनाउने प्रयास गरिरहेका छन् । एमाले यस क्षेत्रमा अघिल्लो निर्वाचनमा विजयी भइसकेको दल भएकाले संगठनात्मक संरचना र विगतको मत आधार उसको मुख्य शक्ति मानिन्छ । तर अघिल्लो निर्वाचनमा विजयी उम्मेदवार भीमप्रसाद आचार्य मैदानमा नहुनु एमालेका लागि अवसर र चुनौती दुवै बनेको विश्लेषण गरिएको छ । लामाले त्यो रिक्ततालाई युवा ऊर्जा र संगठन परिचालनमार्फत पूर्ति गर्ने रणनीति लिएका छन् ।

पुरानो कम्युनिस्ट शक्ति र महिला प्रतिनिधित्व

तत्कालिन नेकपा(माओवादी केन्द्र)बाट पूर्व कृषि राज्यमन्त्री रामकुमारी चौधरी अहिले नेपाली कम्युनिस्ट पार्टी नेकपाको उम्मेदवार छिन् । उनी आफ्नो समुदायसँगै महिलाको प्रतिनिधित्व गर्दै चुनावी मैदानमा उत्रिएकी छन् । राजनीतिक अनुभव र पहिचान हुँदाहुँदै पनि संगठनात्मक कमजोरी र विगतको मत परिणामले माओवादीका लागि यो क्षेत्र चुनौतीपूर्ण देखिन्छ ।

रास्वपाः विकल्प कि विवाद ?

बैकल्पिक शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले लालविक्रम थापालाई उम्मेदवार बनाएको छ । तर थापाको उम्मेदवारीसँगै विवाद पनि जोडिएको छ । पार्टीकै अनुशासन विपरीत गतिविधि गरेको भन्दै रास्वपाले यसअघि उनीमाथि कारबाही गरेको थियो । थापामाथि इटहरीस्थित जनता स्कुलको करिब २ कट्ठा जग्गा भाडामा लिएर विद्यालयलाई ८५ लाखदेखि १ करोड रुपैयाँसम्म तिर्न बाँकी रहेको आरोप पनि लागेको छ । यस्ता विषयले उनको ‘वैकल्पिक’ छविमा प्रश्न उठाएको छ । यद्यपि, २०७९ को निर्वाचनमा समेत उल्लेख्य मत ल्याएका थापा फेरि पनि विकल्प खोजिरहेका मतदाताको आकर्षण बन्न सक्ने आँकलन गरिएको छ । निर्वर्तमान सांसदसमेत रहेका रास्वपाका नेता अशोककुमार चौधरीले सुनसरीका चारै क्षेत्र रास्वपाले जित्ने दाबी गरेका छन् ।

अघिल्लो निर्वाचन र वर्तमान समीकरण

२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा सुनसरी–२ बाट एमाले नेता भीमप्रसाद आचार्य ३२ हजार २४ मतसहित विजयी भएका थिए । कांग्रेस–माओवादी गठबन्धनका उम्मेदवार सिताराम महतोले २६ हजार ६८ मत ल्याएका थिए भने रास्वपाका थापाले १९ हजार ३९१ मत प्राप्त गरेका थिए । समानुपातिकतर्फ पनि एमाले बलियो देखिएको थियो । एमालेले २५ हजार १६९ मत ल्याउँदा कांग्रेस २० हजार ६२६ मतसहित दोस्रो र रास्वपा १६ हजार १३७ मतसहित तेस्रो स्थानमा थियो । राप्रपा चौथो र तत्कालीन माओवादी पाँचौं स्थानमा सीमित थिए । कोशी प्रदेश निर्वाचन अधिकृतको कार्यालयका अनुसार सुनसरी–२ मा कुल २८ जनाको उम्मेदवारी परेको छ । तर, वास्तविक प्रतिस्पर्धा भने कांग्रेस, एमाले र रास्वपाबीच केन्द्रित देखिन्छ ।

प्रकाशित मिति: सोमबार, माघ १९, २०८२  २०:४८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार