राष्ट्रपति पौडेलद्वारा जापानी व्यापारिक समुदायलाई नेपालमा लगानीको लागि आह्वान 

भने, 'नेपाल जापानी निजी क्षेत्रसँग घनिष्ठ साझेदारी निर्माण गर्न चाहन्छ'
सोमबार, माघ १९, २०८२

जापान (टोकियो)  । राष्ट्रपति रामचन्द्र पौडेलले जापानी व्यापारिक समुदायलाई नेपालमा व्यापारिक अवसरको खोजीका लागि आह्वान गरेका छन् । उनले जापानी व्यापारिक समुदायलाई नेपालमा लगानी र व्यापारका लागि हरसम्भव सहयोग प्रदान गर्न नेपाल सरकार कटिवद्ध रहेको विश्वास व्यक्त गरे ।  नेपाल र जापानबीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वर्षगाँठका अवसरमा जापानको टोकियोमा आज आयोजित जापानका व्यापारिक समुदायका सदस्यहरूसँगको अन्तरक्रियात्मक कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले नेपाल जापानी निजी क्षेत्रसँग घनिष्ठ साझेदारी निर्माण गर्न चाहेको बताए ।  “हामीले लगानीमा आकर्षक प्रतिफलका साथै नाफा र पूँजी फिर्तिका लागि सहज प्रक्रियाहरू सहितको स्थिर समष्टिगत आर्थिक वातावरण तयार गरेका छौं, नेपाल सरकार वैदेशिक लगानीमा पूर्ण सहयोग, निर्बाध सहजीकरण र सुरक्षा प्रदान गर्न  प्रतिबद्ध छ”, राष्ट्रपति पौडेलले भने । उनले नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औं वार्षिकोत्सव मनाउँदै गर्दा हाम्रा दुई पक्षबीच पारस्परिक लाभका क्षेत्रमा गहन सहकार्य अघि बढाउन यो उपयुक्त क्षण पनि भएको बताए । राष्ट्रपति पौडेलले गौतमबुद्धको दर्शनले हामी आल्हादित भएको र नेपाल र जापानको सम्बन्ध सांस्कृतिक रूपले आदिकालदेखि रहेको उल्लेख गर्दै भने, ‘गौतमवुद्धले भनेका थिए – शान्तिको विजय त्यो हो जसमा कसैको हार हुँदैन ।’  उनले नेपालमा निर्धक्कसँग लगानी गर्न र व्यापार गर्न आह्वान गर्दै कृषि, जलस्रोत र पर्यटनजस्ता क्षेत्रमा लगानी गरेर नेपाललाई पनि धनी बनाउन र जापानले पनि फाइदा लिन आग्रह गरे । उनले भने, “नेपालमा लगानी गरे धन पनि हुन्छ १ धर्म पनि हुन्छ ।  “ नेपाल र जापानबीच सद्भाव, मित्रता र सहयोगमा आधारित उत्कृष्ट सम्बन्ध रहिआएको छ, आज यहाँको व्यापारिक समुदायको उत्साहजनक सहभागिता नेपाल र जापानबीच तिब्र व्यापार र लगानी सम्पर्क स्थापित गर्न फलदायी हुनेछ भन्ने मेरो विश्वास छ”, राष्ट्रपति पौडेलले भने । यो वर्ष हाम्रा दुई मुलुकबीचको कूटनीतिक सम्बन्धको ऐतिहासिक ७० औं वार्षिकोत्सव भएको तथा हाम्रा सम्बन्धहरू सरकारी  मात्र होइन जनस्तरमा पनि प्रगाढ हुँदै गएको सन्दर्भमा नेपालको सामाजिक–आर्थिक विकास प्रयासहरूमा एक विश्वसनीय विकास साझेदारका रूपमा दशकौंदेखि जापानले गरेको सहयोगको उनले उच्च प्रशंसा गरे ।  उनले राजनीतिक स्थिरतासँगै नेपालको प्रयासहरू सामाजिक न्याय, सुशासन र जनताको समृद्धि प्राप्तिमा केन्द्रित रहेको छ भने । साथै, यस वर्षको अन्त्यसम्ममा नेपाल अति कम विकसित मुलुकको हैसियतबाट स्तरोन्नति हुने तथा २०३० सम्ममा मध्यम आय भएको मुलुक बन्नु हाम्रो लागि अर्को महत्वपूर्ण उपलब्धी हुने उनको भनाई थियो ।   “यस्तो अभियानमा ठूलो स्रोत साधनको आवश्यकता पर्छ, अन्य कुराका अलावा राष्ट्रिय प्राथमिकताका क्षेत्रमा अत्यधिक विदेशी लगानी आकर्षित गर्ने, नेपालको व्यापार बढाउने, अन्तर–आवद्धता विविधीकरण गर्ने, पर्यटन प्रवद्र्धन गर्ने एवं उच्चस्तरीय प्रविधि हासिल गर्ने कुरामा ध्यान केन्द्रित गरिएको छ”, राष्ट्रपति पौडेलले भने ।  उनले आजको समयमा आन्तरिक रूपमा सरकार र निजी क्षेत्रले हातेमालो नगरी एवम् वाह्य रूपमा अन्य मुलुकसँग साझेदारी अघि नबढाई कुनै पनि देश समृद्ध हुन नसक्ने विचार व्यक्त गरे ।  उदार आर्थिक नीतिहरूको पालना गर्दै नेपालले उत्पादन, जलविद्युत्, पर्यटन, सेवा, सूचना प्रविधि, खानी र कृषिमा आधारित उद्योगहरूलगायत लगभग हरेक क्षेत्रलाई विदेशी लगानीका लागि खुला गरेको तथा व्यापार सहज बनाउन, विदेशी लगानी आकर्षित गर्न र नवप्रवर्तनलाई प्रवद्र्धन गर्न व्यापक कानुनी, प्रक्रियागत तथा संस्थागत सुधारहरू गरेको उनको भनाई थियो ।  “नेपाल लगानी बोर्डले ठूला लगानीकर्ताहरूलाई एकद्वार सेवा प्रदान गर्दछ, अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व बैंक र प्रमुख अन्तर्राष्ट्रिय मूल्याङ्कन एजेन्सीहरूले स्वतन्त्र मूल्याङ्कनमार्फत् नेपालले दक्षिण एसियामै सबैभन्दा अनुकूल मध्येको एउटा व्यावसायिक वातावरण प्रदान गर्ने पुष्टि गरेका छन्”, राष्ट्रपति पौडेलले भने ।  विश्वका दुई उदयीमान अर्थतन्त्र भारत र चीनको बीचमा रहेको नेपालको अवस्थितिले सम्भावित लगानीकर्ताहरूलाई बृहत्तर फाइदा प्रदान गर्ने उहाँले विश्वास व्यक्त गरे ।  सो अवसरमा जापानका लागि नेपालका कार्यवाहक राजदूत हरिहरकान्त पौडेलले स्वागत गरेका थिए भने परराष्ट मन्त्रालयका  सचिव अमृत राई र सहसचिब भृगु ढुंगानाले नेपालमा लगानीको सम्भाव्यताबारे प्रस्तुती राखेका थिए । कार्यक्रममा जापानी व्यापारिक समुदायका कतिपय सदस्यहरुले नेपालमा यति धेरै लगानीको अवसर रहेको थाहा पाउँदा खुशी लागेको र यसले लगानीको ढोका खोल्न योगदान पुग्ने धारणा व्यक्त गरेका थिए ।

प्रकाशित मिति: सोमबार, माघ १९, २०८२  १२:०९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार