फागुन २१ को निर्वाचनलाई लक्षित गर्दै आयोगद्वारा मतदाता सचेतना तीव्र, नमूना मतपत्र सार्वजनिक

शुक्रबार, माघ १६, २०८२

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले मतदाता सचेतना कार्यक्रमलाई तीव्र बनाएको छ । सोहीक्रममा आयोगले देशभरका विभिन्न जिल्ला तथा निर्वाचन क्षेत्रअनुसारका नमूना मतपत्र सार्वजनिक गरेको छ । आयोगका अनुसार सातै प्रदेशका जिल्लामा रहेका निर्वाचन क्षेत्रको संरचनाअनुसार फरक–फरक प्रकारका मतपत्र तयार पारिएको छ । एउटा मात्र निर्वाचन क्षेत्र भएको जिल्लाका लागि एक प्रकारको र एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाका लागि अर्को प्रकारको नमूना मतपत्र सार्वजनिक गरिएको हो । उम्मेदवारको सङ्ख्याअनुसार पनि मतपत्रको आकार फरक हुने आयोगले जनाएको छ। धेरै उम्मेदवार भएका निर्वाचन क्षेत्रमा मतपत्रको आकार ठूलो र कम उम्मेदवार भएका क्षेत्रमा सानो मतपत्र रहनेछ । विशेषगरी सबैभन्दा धेरै निर्वाचन क्षेत्र तथा उम्मेदवार रहेको काठमाडौं जिल्लामा प्रयोग हुने मतपत्र आकारमा ठूलो हुनेछ । कर्णाली प्रदेशअन्तर्गत सल्यान, डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट र रुकुमपश्चिममा एउटा मात्र निर्वाचन क्षेत्र रहेको छ भने दैलेख र सुर्खेतमा दुई–दुई निर्वाचन क्षेत्र रहेका छन्। ती जिल्लाका वास्तविक नमूना मतपत्रसमेत आयोगले सार्वजनिक गरिसकेको छ । यस्तै, सुदूरपश्चिम प्रदेशका बाजुरा, बझाङ, डोटी, दार्चुला, बैतडी र डडेल्धुरामा एक–एक निर्वाचन क्षेत्र रहेका छन्। अछाममा दुई, कञ्चनपुरमा तीन र कैलालीमा पाँच निर्वाचन क्षेत्र रहेका छन्। यी सबै निर्वाचन क्षेत्रका वास्तविक नमूना मतपत्रसमेत सार्वजनिक गरिएको आयोगले जनाएको छ । आयोगका अनुसार अन्य जिल्लाका वास्तविक मतपत्र पनि क्रमशः सार्वजनिक गरिँदै जानेछ। हाल जनक शिक्षा सामग्री केन्द्रमा मतपत्र छपाइको काम जारी रहेको छ भने समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ भने सम्पन्न भइसकेको छ। मतदातालाई मतदान प्रक्रिया बुझाउन सहयोग पु¥याउने उद्देश्यले नमूना मतपत्र प्रयोग गरी मतदाता सचेतना कार्यक्रम सञ्चालन भइरहेको आयोगले जनाएको छ। ती नमूना मतपत्रहरू देशभरका मतदान केन्द्र मातहत पु¥याउने कामसमेत अगाडि बढाइएको छ।

प्रकाशित मिति: शुक्रबार, माघ १६, २०८२  १६:२७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार