सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । निर्वाचन आचारसंहिता लागू भएको १० दिनको अवधिमा निर्वाचन आयोगले राजनीतिक दल, उम्मेदवार, सरकारी निकाय र सामाजिक संस्थासहित २१ वटा स्पष्टीकरण सोधेको छ । गत माघ ४ गते रातिदेखि आचारसंहिता लागू भएको हो । आचार संहिता लागू भएयता आजसम्म २१ स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ । तीमध्ये आठ वटा स्पष्टीकरणको मात्र जवाफ प्राप्त भएको छ । आयोगका सहायक प्रवक्ता सीता पुन श्रीसका अनुसार काठमाडौं निर्वाचन क्षेत्र नं ४ का राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार डा. सुरेन्द्र भण्डारी र कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई माघ ७ गते स्पष्टीकरण सोधिएको थियो । दुवैलाई तीन दिनभित्र जवाफ पेस गर्न पत्राचार गरिएको थियो । कार्कीको जवाफ प्राप्त भएको भए पनि भण्डारीको जवाफ आइसकेको छैन । भण्डारीलाई निर्वाचन आचारसंहिता, २०८२ को दफा ४ को खण्ड (च) अनुसार स्पष्टीकरण सोधिएको हो । उक्त दफामा ज्येष्ठ नागरिक, महिला, यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदाय र अपाङ्गता भएका व्यक्तिको भावना आहत हुने वा चरित्र हत्या हुने गरी प्रचारप्रसार गर्न नपाइने व्यवस्था छ। कोशी प्रदेशका मुख्यमन्त्री कार्कीलाई निर्वाचन आचारसंहिता, २०८२ को दफा ५ को खण्ड (क) अनुसार स्पष्टीकरण सोधिएको थियो । उक्त दफामा नेपाल सरकार, प्रदेश सरकार, मन्त्री तथा स्थानीय कार्यपालिकाका पदाधिकारीले कुनै दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसार गर्न नपाइने व्यवस्था गरिएको छ । सो व्यवस्था उल्लङ्घन भएको भनी उजुरी परेपछि आयोगले स्पष्टीकरण सोधेको हो । दोलखा निर्वाचन क्षेत्र नं. १ का राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार जगदीश खरेललाई निर्वाचन आचारसंहिता, २०८२ को दफा १३ को उपदफा (१) को खण्ड (ढ) र (ण) अनुसार माघ ८ गते स्पष्टीकरण सोधिएको थियो । उनले त्रुटि सुधार गर्ने प्रतिबद्धतासहित जवाफ पेस गरेपछि आयोगले सचेत मात्र गराएको जनाएको छ । आयोगले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) लाई एन्फा अर्डिनरी कंग्रेसको निर्वाचन आयोजनासम्बन्धी विषयमा दुई दिनभित्र स्पष्ट जवाफ पेस गर्न माघ ८ गते स्पष्टीकरण सोधेको थियो । राष्ट्रिय खेलकुद परिषद्लाई पनि सोही विषयमा माघ ८ गते स्पष्टीकरण सोधिएको भए पनि दुवै संस्थाले हालसम्म जवाफ पठाएका छैनन् । नेपाल कम्युनिष्ट पार्टी जाजरकोटका उम्मेदवार शक्तिबहादुर बस्नेतलाई माघ ९ गते निर्वाचन आचारसंहिता, २०८२ को दफा १३ को उपदफा (१) को खण्ड (झ) र (ण) अनुसार स्पष्टीकरण सोधिएको थियो । बस्नेतले जवाफ पेस गरिसकेका छन् । कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारीमन्त्री इस्राइल मन्सुरीलाई पनि आयोगले माघ ९ गते दफा ५ को खण्ड (क) अनुसार तीन दिनभित्र स्पष्टीकरण पेस गर्न पत्राचार गरेको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट ओखलढुङ्गा निर्वाचन क्षेत्र नं १ का प्रतिनिधिसभा उम्मेदवार विश्वराज पोखरेललाई निर्वाचन आचारसंहिता, २०८२ को दफा १३ को उपदफा (१) को खण्ड (ण) अनुसार माघ १० गते स्पष्टीकरण सोधिएको थियो । नेपाल जनसेवा पार्टीकी प्रतिनिधिसभा उम्मेदवार जानुका पाठक (शोभा पाठक) लाई सामाजिक सञ्जालमार्फत अर्का उम्मेदवार तथा पार्टीविरुद्ध गाली, भ्रामक र द्वेषपूर्ण सामग्री प्रसारण गरेको आरोपमा स्पष्टीकरण सोधिएको छ । आयोगले निर्वाचन आचारसंहिता, २०८२ को दफा ४ को खण्ड (ञ) र (ण) उल्लङ्घन भएको हो वा होइन भनी स्पष्टीकरण माग गरेको हो । श्रम संस्कृति पार्टीलाई दलको लोगो, नाम, चिह्न र उम्मेदवारको तस्बिर अङ्कित टिसर्ट लगाई बालबालिकाको प्रयोग गरी आचारसंहिता उल्लङ्घन गरेको आरोपमा स्पष्टीकरण सोधिएको छ । पार्टीले जवाफ पेस गरिसकेको छ । जनसेवा पार्टीकै उम्मेदवार कमल भुसाल (डा. निकोलस) लाई जेनजी आन्दोलनसँग जोडिएको भाइरल जुत्ता प्रयोग गरी प्रचार गरेको आरोपमा आयोगले स्पष्टीकरण सोधेको छ। भुसालले जवाफ पेस गरिसकेका छन् । नेपाल स्वास्थ्य स्वयंसेवक सङ्घलाई ट्रेड युनियनको अधिवेशन गर्न लागेको विषयमा उजुरी परेपछि आयोगले तीन दिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको थियो । तर अहिलेसम्म जवाफ प्राप्त भएको छैन । आधारभूत विद्यालय श्रीसिया, आदर्शचोकलाई बालविकास शिक्षिका सन्तोषी गुप्तालाई जबर्जस्ती सरुवा गरिएको भन्ने उजुरीका आधारमा निर्वाचन आचारसंहिता, २०८२ को दफा १० को खण्ड (च) अनुसार स्पष्टीकरण सोधिएको छ । विद्यालयलाई दुई दिनभित्र जवाफ पेस गर्न निर्देशन दिइएको छ ।
नेकपा एमाले भक्तपुर निर्वाचन क्षेत्र नं २ का उम्मेदवार महेश बस्नेतलाई मधेशी समुदायको संस्कृति र पहिचानमाथि प्रहार गरेको, भाषिक नश्लवाद र घृणास्पद अभिव्यक्ति दिएको आरोपमा स्पष्टीकरण सोधिएको छ । आयोगले संविधान, निर्वाचन आचारसंहिता, मुलुकी अपराध संहिता र विद्युतीय कारोबार ऐन उल्लङ्घन भएको हो वा होइन भनी जवाफ माग गरेको भए पनि हालसम्म जवाफ आएको छैन । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालेन्द्र शाह, बाँके निर्वाचन क्षेत्र नं ३ का उम्मेदवार खगेन्द्र सुनार, सप्तरी निर्वाचन क्षेत्र नं २ का उम्मेदवार डा. चन्द्रकान्त राउत र काठमाडौँ निर्वाचन क्षेत्र नं. ५ का उम्मेदवार निशा अधिकारीलाई पनि स्पष्टीकरण सोधिएको छ । यसैगरी पूर्वाञ्चल विश्वविद्यालय, गोठगाउँ मोरङलाई करार सेवाका कर्मचारी छनोट प्रक्रिया रोकिएको विषयमा र देउती आधारभूत विद्यालय भैरवी–३ दैलेखका शिक्षक देवीराम आचार्यलाई सामाजिक सञ्जालमार्फत मत मागेको आरोपमा पनि स्पष्टीकरण सोधिएको छ । गुठी संस्थानलाई बौद्ध तथा मेलम्ची घ्याङ गुठीका प्रमुख लामालाई हटाएको विषयमा स्पष्टीकरण सोधिएको थियो ।