निर्वाचन अवधिभर शान्ति सुरक्षा सुनिश्चित गर्न सरकार दृढ : गृहमन्त्री अर्याल

बिहीबार, माघ १५, २०८२

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी निर्वाचनलाई सुरक्षित, मर्यादित र भयमुक्त वातावरणमा सम्पन्न गराउन सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन् । निर्वाचन आयोगका पदाधिकारीहरूसँग बिहीबार भएको छलफलका क्रममा गृहमन्त्री अर्यालले निर्वाचन प्रक्रियामा संलग्न सबै पक्षको सुरक्षाका लागि आवश्यक व्यवस्था मिलाइएको जानकारी गराए ।  उनले निर्वाचनको शान्ति र सुरक्षा खल्बल्याउने कुनै पनि गतिविधि सह्य नहुने स्पष्ट पार्दै त्यसमा संलग्न जो–कोहीमाथि कानुनअनुसार कडा कारबाही गरिने बताए । उनका अनुसार गृह मन्त्रालयले निर्वाचन आयोगको कार्यतालिकासँग समन्वय गरी विस्तृत सुरक्षा योजना कार्यान्वयन गरिरहेको छ । साथै आपराधिक क्रियाकलाप र निर्वाचन विरोधी गतिविधिप्रति शून्य सहनशीलताको नीति अपनाएर सुरक्षा निकाय परिचालन गरिएको जानकारी पनि छलफलमा दिइएको थियो । उक्त अवसरमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारीका क्रममा सरकारबाट प्राप्त सहयोग र सहकार्यप्रति आभार व्यक्त गरे । उनले निर्वाचन व्यवस्थापनसम्बन्धी सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी पनि गराएका थिए । आसन्न प्रतिनिधिसभा निर्वाचनमा सुरक्षा व्यवस्था, आचारसंहिताका परिपालना लगायतका विषयमा गृहमन्त्री अर्याल र निर्वाचन आयोगका पदाधिकारीबीच छलफल गरेका हुन् ।  २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित वातावरणमा सम्पन्न गर्न आचारसंहिता उल्लंघनका अवाञ्छित गतिविधि निस्तेज गर्ने विषयमा छलफल केन्द्रित भएको हो। छलफलका क्रममा आयोगको तर्फबाट कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन लक्षित शान्ति सुरक्षा व्यवस्थापन, आचारसंहिता परिपालना सम्बन्धमा गर्नुपर्ने अनुगमन लगायतको विषयमा चासो व्यक्त गरेका थिए । मन्त्री अर्यालले निर्वाचनका लागि सुदृढ शान्ति व्यवस्था मिलाइएको र दण्डहीनता सह्य नहुने भन्दै आचारसंहिता परिपालनाको अनुगमनमा मन्त्रालय अन्तर्गतका निकायलाई पूर्ण रुपमा परिचालन गर्ने प्रतिबद्धता जनाए । छलफलमा गृह मन्त्रालयको तर्फबाट मन्त्री अर्यालसँगै गृह सचिव, मन्त्रालयको सुरक्षा तथा समन्वय महाशाखा प्रमुख लगायतका पदाधिकारीको उपस्थिति थियो भने आयोगका तर्फबाट प्रमुख निर्वाचन आयुक्त, आयुक्त, आयोगका सचिव लगायतका पदाधिकारी पनि थिए ।
 

प्रकाशित मिति: बिहीबार, माघ १५, २०८२  १७:५४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार