सर्लाही– ४ : गगनबाट टीका लगाएर कांग्रेस प्रवेश गरेका वडाध्यक्ष गुप्ता जसपामै फर्किए

बिहीबार, माघ १५, २०८२

सर्लाही । हिजो (वुधबार) मात्र नेपाली कांग्रेसका सभापति गगन थापाबाट टीका लगाएर कांग्रेस प्रवेश गरेका सर्लाहीको गोडैता नगरपालिका–५ का वडाध्यक्ष प्रकाश प्रसाद गुप्ता आज पुनः आफ्नै पुरानो पार्टी जनता समाजवादी पार्टी (जसपा) मा फर्किएका छन् । जसपाबाट निर्वाचित वडाध्यक्ष गुप्ताले आज आफू कांग्रेस परित्याग गरी पुरानै पार्टीमा फर्किएको घोषणा गरेका हुन् । उनले आगामी निर्वाचनमा पनि जसपालाई नै सहयोग गर्ने स्पष्ट पारेका छन् । एक भिडियोमा उनले आफू सुरुदेखि नै जसपामा रहेको, पार्टीप्रति प्रतिबद्ध रहेको र गोडैता नगरपालिका –५ का निर्वाचित वडाध्यक्षका रूपमा काम गरिरहेको बताएका छन् । यसघि पार्टीको गठबन्धनका कारण केही समयका लागि नेपाली कांग्रेस मधेश प्रदेशका उपसभापति बिरेन्द्र सिंहसँग नजिकिएको र सोही कारण त्यहाँ गएको र आफूलाई सम्मान गरेको भन्दै धन्यबादसमेत दिएका छन् । अन्त्यमा उनले आफ्नो पार्टी छाडेर अन्य कुनै दललाई भोट नदिने र जसपाप्रति पूर्ण निष्ठा कायम राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । हिजो (बुधबार) सर्लाहीको गोडैतामा कांग्रेसका सभापति थापालाई सहयोग गर्ने भन्दै उनीसहित चारजना वडाध्यक्षले कांग्रेस प्रवेश गरेका थिए ।

प्रकाशित मिति: बिहीबार, माघ १५, २०८२  १७:२३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार