सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । निर्देशक सुदिप्ताको निर्देशनमा तयार भएको फिल्म ‘रमिताको पिरती’ माघ २३ गते देशभर रिलिज हुने भएको छ । फिल्ममा अभिनेत्री आना शर्मा मुख्य भूमिकामा देखिएकी छन् । अभिनेत्री आना शर्मा मुख्य भूमिकामा रहेको यो फिल्म केवल एउटा प्रेमकथा मात्र होइन, ब्रेकअपपछि आफूलाई फेरि चिन्ने, स्वीकार्ने र रोज्ने एउटा भावनात्मक यात्राको कथा हो । फिल्मका बारेमा नेपाल न्यूज बैंकसँग कुरा गर्दै अभिनेत्री आना शर्माले आफूले निभाएको ‘रमिता’ पात्रको भावनात्मक यात्रालाई केन्द्रमा राखेर कथा अघि बढ्ने बताइन् । उनका अनुसार फिल्म ब्रेकअपबाट सुरु भए पनि यो केवल ब्रेकअपको कथा मात्र नभई, त्यसपछिको आत्मखोज, आत्मसम्मान र आत्मस्वीकृतिको यात्रा हो । ‘ब्रेकअपपछि मानिसले आफ्नै निर्णय, आफ्नो मूल्य र जीवनबारे प्रश्न गर्न थाल्छ । रमिताको पात्रले पनि त्यही भावनात्मक उतार–चढाव भोग्छ । उसले आफैँलाई गुमाएको हुन्छ र ब्रेकअपले उसलाई फेरि आफैँलाई भेट्टाउने कारण दिन्छ,’ आना भन्छिन् । शर्माले यस फिल्ममार्फत पहिलो पटक एक्जिक्युटिभ प्रोड्युसरको जिम्मेवारी पनि सम्हालेकी छन् । उनले सुरुमा कलाकारका रूपमा मात्र स्क्रिप्ट सुनेर प्रोजेक्टमा आबद्ध भएपनि पछि निर्देशक सुदिप्ता र निर्माता सागर लम्सालसँग नजिकबाट काम गर्दै एक्जिक्युटिभ प्रोड्युसरको भूमिका पाएको बताइन् । ‘सुरुमा हाम्रो कोर टिम नै सानो थियो । दैनिक मिटिङ, वर्कसप हुँदै सँगै निर्णय लिने अवस्थामा पुग्यौं । निर्माता सागरजीले म माथि विश्वास गरेर एक्जिक्युटिभ प्रोड्युसरको जिम्मेवारी दिनुभयो, जुन मेरो लागि सिकाइको ठूलो अवसर बन्यो,’ उनले भनिन् । एक्जिक्युटिभ प्रोड्युसरको भूमिकाले आफूलाई नयाँ किसिमको प्रेसर र क्रिएटिभ स्वतन्त्रता दुवै दिएको आना बताउँछिन् । ‘जिम्मेवारी धेरै हुन्छ, तर क्रिएटिभ फ्रिडम पनि उत्तिकै रमाइलो रहेछ,’ उनले आफ्नो अनुभव सुनाइन् । फिल्मले विशेषगरी युवा पुस्ता, युवतीहरूलाई लक्षित गर्दै महत्वपूर्ण सन्देश दिने शर्माको विश्वास छ । ‘पहिला आफूलाई माया गर्नुपर्छ, आफूलाई केयर गर्नुपर्छ, अनि मात्र अरूलाई माया दिन सकिन्छ भन्ने सन्देश फिल्मले दिन्छ,’ उनले भनिन् । सोसल मिडियाको प्रभाव, बाह्य भ्यालिडेसनको खोजी र त्यसले व्यक्तिको मानसिक अवस्थामा पार्ने असरलाई पनि फिल्मले चित्रण गर्ने उनले बताइन् । रमिताको पात्र पनि एक चरणमा अरूको स्वीकृतिमा निर्भर हुने देखाइन्छ, जुन आजको पुस्तासँग गहिरो रूपमा सम्बन्धित रहेको उनको भनाइ छ । फिल्ममा समिर र आनाले निभाएका पात्रहरूको प्रेम सम्बन्धलाई गीतमार्फत प्रस्तुत गरिएको छ । ती गीतहरू प्रेमको सुरुआती चरण र पात्रहरूबीचको कनेक्सन देखाउन केन्द्रित छन् । शर्माका लागि ‘रमिताको पिरती’ विशेष हुनुका तीन कारण छन् । पहिलो, यो पूर्ण रूपमा महिलाको कथा हो; दोस्रो, महिला निर्देशकद्वारा लेखिएको र निर्देशित फिल्म हो र तेस्रो, उनले पहिलो पटक एक्जिक्युटिभ प्रोड्युसरको भूमिकामा काम गर्न पाएकी छन् । नेपाली फिल्म उद्योगको विकास हुँदै गएको बताउँदै उनले अझ नयाँ विधा, नयाँ फिल्ममेकर र नयाँ ट्यालेन्टहरू आउनुपर्ने आवश्यकता औंल्याइन् । फिल्म ‘रमिताको पिरती’ को टिजर र गीतहरू सार्वजनिक भइसकेका छन् भने निर्माण पक्षले दर्शकहरुलाई फिल्मलाई धेरै माया दिन आग्रह गरेको छ । लामो समयको ब्रेकपछि फिल्म क्षेत्रमा फर्किएकी आना, नेपाली फिल्म उद्योगमा प्रगति देख्छिन् तर अझै नयाँ विधा, नयाँ फिल्ममेकर र नयाँ प्रतिभा आउनुपर्नेमा जोड दिन्छिन् । चलचित्रमा नायिका शर्मासँगै उनको साथमा फिल्ममा नायकद्धय धिरज मगर र विनय श्रेष्ठलाई देख्न सकिन्छ। यही फिल्मबाट गायक समीर श्रेष्ठ चलचित्रको पर्दामा नायकको रूपमा उदाउँदै छन् । शर्मा र सन्तोष लम्साल कार्यकारी निर्माता रहेको यो फिल्ममा आरपी प्रोडक्सन एसोसियट निर्माताको रूपमा छ । चलचित्रका निर्माता सागर लम्साल हुन् । चलचित्रमा सुशान्त केसी, समीर श्रेष्ठ, महेश काफ्ले, अस्मिता अधिकारी र कुशल पोखरेलको संगीत छ । शिशिर विशांखेको डीओपी रहेको फिल्ममा सुनिल शिवाकोटीको सम्पादन, कपिल पराजुलीको कलर, कातिक बरालको कोरियोग्राफी छ । फिल्मलाई काठमाडौंमा रिच इन्टरटेन्मेन्ट र एप्पल इन्टरटेन्मेन्टले वितरण गर्नेछन् भने काठमाडौँ बाहिर एफडी कम्पनीले वितरण गर्नेछ ।