सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेस र एमाले गठबन्धनका साझा उम्मेदवार विजयी भएका भएका छन् । तीन पदका लागि आइतबार भएको निर्वाचनमा खुलातर्फ चन्द्रबहादुर केसी, महिलातर्फ रामकुमारी झाँक्री र अपाङ्गगातर्फ वासुदेव घिमिरे (जंगली) विजयी भएको प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिए । केसी र घिमिरे कांग्रेस तथा झाँक्री एमाले उम्मेदवार हुन् । ३०० मतदाता रहेकोमा २८६ मत खसेको थियो । यहाँ ३ सिटको लागि ८ जनाले उम्मेदवारी दिएका थिए । लुम्बिनीबाट एमालेका गोपाल भट्टराई र राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरे तथा माओवादीका जगप्रसाद शर्मा ‘अपार’ को पदावधि आउँदो फागुन २० मा सकिँदैछ ।
मधेस प्रदेशमा ३४१ मत खस्यो राष्ट्रिय सभा निर्वाचन अन्तर्गत मधेस प्रदेशमा ३४१ मत खसेको छ । आइतबार दिउँसो ३ बजेसम्म तोकिएको मतदानमा उक्त संख्यामा मत खसेको हो । राष्ट्रिय सभा सदस्यका लागि स्थानीयतर्फ २६४ मा २४२ मत खसेको हो । जसमध्ये १२५ पुरुष र ११७ महिलाले मत खसालेका हुन् । त्यस्तै प्रदेशमा १ सय मध्ये ९९ मत खसेको छ । जसमध्ये ३९ महिला र ६० पुरुषले मत खसालेका छन् । नेपाल सङ्घीय समाजवादी पार्टीका सांसद बिमला अन्सारी भने अनुपस्थित रहिन् ।
बागमती प्रदेशमा ३१८ मत खस्यो राष्ट्रियसभा सदस्य पदका लागि बागमती प्रदेश तर्फको २ सिटका लागि भएको निर्वाचनमा ३१८ जनाले मतदान गरेका छन् । निर्वाचनमा मताधिकार पाएका प्रदेश सभा तर्फको १०४ जना सांसद मध्ये ८९ ले मतदान गरेका छन् । १५ सांसदले मतदान गरेनन् । प्रदेशसभामा कायम रहेको राप्रपाका १२ जना सांसदले मतदानमा सहभागी भएनन् । जसमा उद्धव थापा, नुरज बज्राचार्य, राजु विष्ट, राजेन्द्र प्रजापति, डम्बर तामाङ, गिर बहादुर तामाङ, आशा लामा, कुमारी तामाङ, मोनिका श्रेष्ठ, धनेश्वरी प्रजापति, भुवन कुमार पाठक र लक्ष्मी घिमिरेले मतदान गरेनन् ।
गण्डकीमा २२३ मत खस्यो गण्डकी प्रदेशबाट राष्ट्रिय सभा निर्वाचन अन्तर्गत मतदान सकिएको छ । तोकिएको ३ बजेसम्मको अवधिमा २२३ जनाले मत दिएका हुन् । प्रदेश तर्फ ५७ जना र पालिका तर्फ १६६ जना जनाले मत दिएका छन् । प्रदेशमा राप्रपाका २ जनाले मत दिएनन् । निर्वाचन आयोगका अनुसार केही बेरमा मतपरिणाम आउने छ ।
कोशीमा प्रदेशमा कति खस्यो मत ? राष्ट्रिय सभा सदस्य निर्वाचन अन्तर्गत कोशी प्रदेशबाट ८७ जना प्रदेशसभा सदस्य र २५८ जना स्थानीय तहका पदाधिकारीले मतदान गरेका छन् । राष्ट्रियसभा निर्वाचन कार्यालयका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार बिहान ९ बजेदेखि भएको मतदानमा स्थानीय तहका २५८ जना र प्रदेशसभाका ८७ जनाले मतदान गरेका हुन् । कोशी प्रदेशमा ९२ जना प्रदेश सांसद र २६७ जना पालिकाका प्रतिनिधि मतदाता थिए ।