कोसी प्रदेशबाट राष्ट्रिय सभामा काँग्रेस–एमालेका तीन सदस्य निर्वाचित

आइतबार, माघ ११, २०८२

काठमाडौं । कोसी प्रदेशको प्रतिनिधित्व गर्ने राष्ट्रियसभा सदस्य छनोटका क्रममा तीन जनाले सफलता हासिल गरेका छन् । निर्वाचन परिणामअनुसार नेपाली काँग्रेसबाट सुनिलबहादुर थापा तथा नेकपा एमालेबाट सोम पोर्तेल र रोशनी मेचे राष्ट्रिय सभाका सदस्य निर्वाचित भएका हुन् । यस निर्वाचनमा कुल तीन पदका लागि प्रक्रिया अघि बढाइएको थियो । काँग्रेसका थापा यसअघि नै निर्विरोध रूपमा चयन भइसकेका थिए भने बाँकी दुई पदका लागि आइतबार मतदान सम्पन्न भएको थियो । सो मतदानबाट एमालेका पोर्तेल र मेचे विजयी भए । प्रतिस्पर्धामा रहेका नेकपा (एकीकृत समाजवादी) का खेम सुन्दास र नमिता न्यौपाने पराजित भएका छन् । नवनिर्वाचित सदस्य थापा पूर्वमन्त्रीसमेत रहिसकेका नेता हुन् । उनी संविधानसभा निर्वाचन २०७० मा धनकुटा क्षेत्र नम्बर २ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट निर्वाचित भएका थिए । एमालेले कोसी प्रदेशका लागि दलित समुदायको कोटामा पोर्तेललाई उम्मेदवार बनाएको थियो । उनी यसअघि झापा जिल्ला समन्वय समितिमा पाँच वर्षसम्म जिम्मेवारी सम्हालिसकेका छन् । त्यसैगरी, रोशनी मेचे झापा जिल्लाकै निवासी हुन् । अल्पसंख्यक मेचे समुदायको प्रतिनिधित्व गर्दै उनी यसअघि पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयमा कार्यरत थिइन् । निर्वाचनमा उनले ७ हजार १७३ मतभार प्राप्त गरी विजय हासिल गरेकी हुन् । कोसी प्रदेशतर्फको राष्ट्रियसभा निर्वाचनमा प्रदेशसभाका ८७ सदस्य तथा स्थानीय तहका २५८ जना जनप्रतिनिधिले मतदान गरेका थिए । निर्वाचन प्रक्रियामा एमाले, काँग्रेस र जनता समाजवादी पार्टीबीच सहकार्य भएको थियो ।

गण्डकीमा खुलाबाट कांग्रेसका तिमिल्सिना विजयी
राष्ट्रियसभा निर्वाचन अन्तर्गत गण्डकीमा भएको निर्वाचनमा अन्य क्लष्टरबाट कांग्रेसका जगत तिमिल्सिना विजयी भएका छन् । उनले ५ हजार ३३ मतभार पाए । गण्डकीका २ सय २८ मतदातामध्ये २ सय २३ मत खसेको थियो । मतदानमा सहभागी नभएकामध्ये राप्रपाका २ जना सांसद र सत्ता गठबन्धनका ३ जना पालिका प्रतिनिधि छन् ।  यसरी हिसाब गर्दा सत्ता गठबन्धनका उम्मेदवारले ५ हजार १ सय ५ मतभार पाउनुपर्नेमा तिमिल्सिनाले ७२ मतभार कम पाएका हुन् । यद्यपि, मुख्य निर्वाचन अधिकृतको कार्यालयले परिणाम सार्वजनिक गरिसकेको छैन । राष्ट्रियसभा निर्वाचन अन्तर्गत गण्डकीबाट महिला क्लष्टरमा एमालेकी सम्झना देवकोटा विजयी भएकी छिन् । एमालेबाट उम्मेदवार बनेकी उनले ५ हजार १४ मतभार पाइन् ।
गण्डकीका २ सय २८ मतदतामध्ये २ सय २३ मत खसेको थियो । मतदानमा सहभागी नभएकामध्ये राप्रपाका २ जना सांसद र सत्ता गठबन्धनका ३ जना पालिका प्रतिनिधि छन् ।  यसरी हिसाब गर्दा सत्ता गठबन्धनका उम्मेदवारले ५ हजार १ सय ५ मतभार पाउनुपर्नेमा देवकोटाले ९१ मतभार कम पाएकी हुन् ।

३० सांसदले गरेनन् मतदान
आइतबार सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचनमा मतदाता रहेका सात प्रदेशका ३० जना सांसद मतदानमा सहभागी नभएको पाइएको छ । यद्यपि निर्वाचन आयोगले ९५।६८ प्रतिशत मत खसेको जनाएको छ ।  राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रदेश सांसद र स्थानीय तहका प्रमुख उपप्रमुख मतदाता रहने गरेका छन् ।  निर्वाचन आयोगका अनुसार आइतबार भएको राष्ट्रियसभा सदस्य निर्वाचनमा कोशी प्रदेशका ९२ प्रदेशसभा सदस्यमध्ये ८७ सदस्य मात्र मतदानमा सहभागी भएका छन् ।  त्यस्तै, मधेस प्रदेशका एक सय सदस्यमध्ये ९९ सदस्य मतदानमा सहभागी भएका छन् । सबैभन्दा धेरै बागमती प्रदेशका प्रदेश सांसद मतदानमा सहभागी भएनन् । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार बागमतीमा रहेका १०४ जना प्रदेश सांसदमध्ये ८९ जना सांसद मात्र मतदानमा सहभागी भएका छन् । 
 

प्रकाशित मिति: आइतबार, माघ ११, २०८२  १७:४१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार