मतदाता रिझाउन ऋषि धमलाको अनेक शैली

शनिबार, माघ १०, २०८२

रौतहट । आसन्न निर्वाचनको मिति नजिकिँदै गर्दा रौतहट क्षेत्र नम्बर ४ मा चुनावी सरगर्मी ह्वात्तै बढेको छ । विभिन्न दलका उम्मेदवारहरू मतदाताको मन जित्न घरदैलोमा व्यस्त रहेका बेला आम जनता पार्टी (आजपा) का उम्मेदवार एवं पूर्व सञ्चारकर्मी ऋषि धमलाको प्रचार शैलीले भने सामाजिक सञ्जाल तताएको छ । विगतमा सञ्चारकर्ममार्फत चर्चामा रहेका धमला अहिले चुनावी मैदानमा उत्रिएपछि मतदाता रिझाउन नयाँ–नयाँ शैली अपनाइरहेका छन् । उनको चुनावी अभियानका दृश्यहरू यतिबेला फेसबुक, टिकटक र युट्युबजस्ता प्लेटफर्ममा व्यापक रूपमा भाइरल भइरहेका छन् । धमलाको प्रचारको सबैभन्दा चर्चित पक्ष मतदातासँगको भावनात्मक मिलन बनेको छ । गाउँका वृद्धवृद्धा र सर्वसाधारणलाई भेट्दा उनी भावुक हुँदै अंकमाल गर्ने र रुने गरेका भिडियोहरू छ्याप्छ्याप्ती देखिएका छन् । चुनावी प्रचारका क्रममा उनी कतै खेतमा पुगेर किसानसँगै उखु काटिरहेका देखिन्छन् भने कतै हलुवाई पसलमा बसेर जेरी पकाउन सघाइरहेका भेटिन्छन् । जनताको काममा प्रत्यक्ष सहभागी भएको देखाएर आफूलाई ’भुइँमान्छे’ को रूपमा स्थापित गर्ने उनको प्रयास देखिन्छ । धमलाका यी गतिविधिहरूलाई लिएर सामाजिक सञ्जालमा भने मिश्रित प्रतिक्रिया आएका छन् । कतिपयले उनलाई ’नौटंकी’ र ’सस्तो लोकप्रियताको भोको’ भन्दै आलोचना गरेका छन् भने कतिपयले नेताहरू जनताको घरदैलोमा पुगेर काममा सघाउनु सकारात्मक भएको टिप्पणी गरेका छन् । रौतहट–४ मा धमलाको आक्रमक प्रचारले चुनावी नतिजालाई कस्तो प्रभाव पार्छ, त्यो भने निर्वाचनपछिको मतगणनाले नै स्पष्ट पार्नेछ ।

प्रकाशित मिति: शनिबार, माघ १०, २०८२  १७:३८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार