बाजुरामा हिउँदे बर्षासँगै हिमपात, जनजीवन प्रभावित

शनिबार, माघ १०, २०८२

काठमाडौं । शुक्रबार दिउसो देखिको धुम्म भएको मौसमका कारण आज बिहानै देखि कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएको छ ।  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले शुक्रबार देखिनै मौसममा परिवर्तन हुने बताएको थियो । मौसम पूर्वानुमान महाशाखाको आँकलन अनुसार नै कर्णाली प्रदेशका जुम्ला, मुगु, हुम्ला र डोल्पामा शुक्रबार रातिदेखि हिउँ पर्न थालेको हो । महाशाखाका अनुसार कर्णालीमा यस वर्षको पहिलो हिमपात हो ।
शुक्रबार रातिदेखि मौसम बदलीसँगै दुवै प्रदेशका उच्च क्षेत्रमा हिमपात भएको छ । हिमपातसँगै चिसो बढेपछि जनजीवन प्रभावित भए पनि लामो समयपछि हिउँ पर्दा किसान भने उत्साहित भएका छन् । डोल्पाका उपल्लो क्षेत्रका लेकहरु हिउँले ढपक्कै छोपिएका छन् । माघ दोस्रो साता लाग्नै लाग्दा परेको हिउँले हिउँदे बाली सप्रिने भएकाले किसान उत्साहित भएका छन् ।  डोल्पा, हुम्लाका केही स्थान, मुगु र जुम्लामा हिउँ पर्ने क्रम अहिले पनि जारी छ । तर हुम्ला र डोल्पाका माथिल्लो क्षेत्रमा भने धेरै हिउँ जमेमा आगामी फागुन २१ को चुनाव केही प्रभावित हुनसक्ने चिन्ता थपिएको छ । यता सुदूरपश्चिमका डडेलधुरा, बझाङ, दार्चुला र बैतडीको खोड्पे, श्रीभावर, ढोल्यामोड, मुस्याचोर, सत्बाझ, देहीमाण्डौ, शिवनाथ लगायतका क्षेत्रमा हिमपात भएको छ । अन्य क्षेत्रमा पनि वर्षा भइरहेको छ । असोज महिनादेखि वर्षा नभएपछि खडेरीले बैतडीमा हिउँदेबाली सुक्न थालेको थियो । शुक्रबारको वर्षा र हिमपातले सुक्दै गएको किसानको बालिलाई राहात हुने कृषि ज्ञान केन्द्र बैतडीले जनाएको छ ।

बाजुरामा हिउँदे बर्षासँगै हिमपात, जनजीवन प्रभावित

बाजुरामा लामो समयपछि हिउँदे बर्षा तथा हिमपात भएको छ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावसँगै बाजुराको उच्च हिमाली तथा लेकाली भू–भागमा वर्षासँगै हिमपात भएको हो । शुक्रबार रातीदेखि बाजुराका ९ वटै स्थानीय तहका उच्च हिमाली तथा लेकाली भू–भागमा वर्षासँगै हिमपात भएको छ । खडेरीले बाली सुक्दै गएका बेला लामो समयपछि हिँउदे बर्षा तथा हिमपात हुँदा बाजुराबासी निकै हर्षित बनेका छन । लामो समयपछि जिल्लामा बर्षा तथा उच्च हिमाली भेगमा हिमपात हुँदा अत्याधिक जाडोको अनुभव गरीएको छ । करिब पाँच महिनाको अन्तरालपछि बर्षा तथा हिमपातले बालीनाली सप्रिने भन्दै बाजुराका किनासहरु खुसी पनि भएका छन । खडेरीले बालीनाली सुक्दै गएको बेला बर्षा र हिमपात हुँदा अब बालीनालीमा सुधार हुने र उत्पादनमा बृद्धि हुने बिश्वास रहेको बाजुराको बडीमालिका ७ रजातोलीका स्थानीय हरिचन्द्र पाध्यायले बताए । उनका अनुसार, हिउँदे बर्षा र हिमपात नहुँदा हिउँदे बाली सुक्न थालेको थियो। बर्षा तथा हिमपात हुँदा जिल्लाका पर्यटकीय स्थल बडिमालिका, बूढीनन्दा, सुनन्दा, रानीसैन, कालाजग्रा, बडालेखल लगायतका उच्च हिमाली तथा लेकाली क्षेत्र यतिबेला सेताम्मे बनेका छन्। जिल्लामा यो वर्ष पहिलो पटक हिँउदे बर्षा तथा हिमपात भएको हो । बाजुरासहित सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा लेकाली भु–भागमा बर्षा तथा भारी हिमपात जारी रहेको छ । हिमपात भए पछि चिसोको कारण बालबालिका र बृद्धबृद्धा समस्या परेका छन्। बाजुराको पोरखेगढीमा भारी हिमपात भएका कारण मार्तडी देखि पूर्वी उत्तरी भेगमा चल्ने सवारीसाधन ठप्प बनेका छन् ।

यस्तो छ मौसम विभागले गरेको आगामी २४ घण्टाको पूर्वानुमान

देशका उच्च पहाडी तथा हिमाली भू–भागमा साधारणतया बादल लाग्ने तथा बाँकी भू–भागमा आंशिक बादल लाग्नेछ। देशका सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागमा केही स्थानहरूमा तथा बाँकी उच्च पहाडी तथा हिमाली भू–भागमा थोरै स्थानहरूमा हल्का हिमपात र वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेशलगायत लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा समेत हल्का बर्षाको सम्भावना रहेको छ । आज राति देशका पहाडी तथा हिमाली भू–भागमा साधारणतया बादल लाग्ने तथा बाँकी भू–भागमा आंशिक बादल लाग्नेछ। कोशी प्रदेश, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू‍–भागका एक–दुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना रहेको छ । विभागका अनुसार हाल पश्चिमी न्यून चापिय प्रणालीको प्रभाव रहने छ।

प्रकाशित मिति: शनिबार, माघ १०, २०८२  ११:२९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार