सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले मुलुकको दिगो स्थायित्व सुनिश्चित गर्न सरकार पूर्ण प्रतिबद्धताका साथ अघि बढिरहेको स्पष्ट गरेकी छन् । उनले बदलिँदो समयसँगै सुरक्षा चुनौतीहरूको स्वरूप पनि परिवर्तित हुँदै गएको उल्लेख गर्दै त्यसअनुसार रणनीतिक तयारी आवश्यक रहेको धारणा राखिन् । शुक्रबार सशस्त्र प्रहरी बलको २५औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले विगतका निर्वाचनहरू स्वतन्त्र, निष्पक्ष तथा भयमुक्त वातावरणमा सम्पन्न गराउन सशस्त्र प्रहरी बलले निर्वाह गरेको भूमिकाको प्रशंसा गरिन् । उनले आगामी प्रतिनिधि सभा निर्वाचनलाई केन्द्रमा राखी सम्भावित जोखिमहरूको सूक्ष्म विश्लेषण गर्दै उच्च सतर्कता र पेशागत दक्षतासहित जिम्मेवारी निर्वाह गर्न निर्देशन दिइन् । प्रधानमन्त्रीले निर्वाचन सुरक्षाका लागि सबै सुरक्षा निकाय परिचालन गर्ने निर्णय भइसकेको जानकारी दिँदै निर्वाचन प्रक्रियामा कुनै पनि प्रकारको हिंसा नहोस् भन्ने सरकारको स्पष्ट लक्ष्य रहेको बताइन् । उनले एक थोपा पनि रगत नबग्ने र कसैलाई पनि चोटपटक नलाग्ने गरी सुरक्षा व्यवस्थापन सुनिश्चित गर्न जोड दिइन् । निर्वाचन सफल बनाउन सबै सुरक्षा निकायबाट उच्चस्तरीय पेशागत क्षमता प्रदर्शन हुने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री कार्कीले समन्वय, सतर्कता र अनुशासनलाई प्राथमिकतामा राख्न निर्देशन दिइन् ।