सोसल मिडिया
Contact Us
युनिकोड
ललितपुर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ललितपुरका तीनवटै निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवारहरूले मनोनयन दर्ता गराएका छन् । काँग्रेसका केन्द्रीय सहमहामन्त्री उदय शमशेर राणाले ललितपुर क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि गोदावरी नगरपालिकामा स्थापना गरिएको निर्वाचन अधिकृत कार्यालयमा पुगेर मनोनयन दर्ता गराएका छन् । राणा यसअघि २०७० र २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा ललितपुर क्षेत्र नं. १ बाट निर्वाचित भएका थिए । यसैगरी, ललितपुर क्षेत्र नं. २ का लागि उम्मेदवार बनेका नेपाली कांग्रेस महासमिति सदस्य प्रेमकृष्ण महर्जनले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा रहेको निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गराएका छन् । महर्जन २०५४ सालमा तत्कालीन ललितपुर उपमहानगरपालिकाको उपमेयर पद तथा २०७४ सालमा बागमती प्रदेश सभा सदस्यका उम्मेदवार बनेका थिए ।
त्यस्तै, ललितपुर क्षेत्र नं. ३ बाट उम्मेदवार बनेका नेपाली कांग्रेस ललितपुरका सभापति जितेन्द्र श्रेष्ठले जावलाखेलस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गराएका छन् । श्रेष्ठ २०७९ सालको निर्वाचनमा बागमती प्रदेश सभा सदस्य पदका उम्मेदवार थिए । नेकपा एमालेले ललितपुर क्षेत्र नं. १ का मा चेतनाथ सञ्जेल, क्षेत्र नं. २ मा प्रेम महर्जन क्षेत्र नं. ३ मा सन्दन थापामगरलाई उम्मेदवार बनाएको छ । प्रेम महर्जन निवर्तमान सांसद हुन भने सञ्जेल बागमती प्रदेशका पूर्वसदस्य हुन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निवर्तमान सूचना तथा सञ्चमन्त्री जगदीश खरेललाई ललितपुर–२ बाट उम्मेदवार बनाएको छ । यस्तै रास्वपाले ललितपुर–३ मा निवर्तमान सांसद डा. तोसिमा कार्कीलाई उम्मेदवार बनाएको छ भने क्षेत्र नं. १ मा बुद्धरत्न महर्जनलाई उम्मेदवार बनाएको छ । यस्तै नेपाली कम्युनिस्ट पार्टीले ललितपुर क्षेत्र नं. १ बाट सुनिल महर्जन, क्षेत्र नं. २ बाट राजेन्द्र अमात्य र क्षेत्र नं. ३ बाट राजकाजी महर्जनलाई उम्मेदवार बनाएको छ। राजकाजी महर्जन संविधानसभा सदस्य एवम् बागमती प्रदेशका पूर्वसदस्य समेत हुन् । नागरिक प्रथम अभियानका अभियान्ता सनोद महतले पनि ललितपुर क्षेत्र नं १ बाट उम्मेदवार दर्ता गराएका छन् । माओवादी जनयुद्धमा होमिएका महत लामो समयदेखि सामाजिक राजनीतिक अभियानमा थिए ।