सोसल मिडिया
Contact Us
युनिकोड
हेटौंडा । नेपाली कांग्रेसकी केन्द्रीय सह–महामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ ले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मकवानपुर क्षेत्र नम्बर १ बाट पुनः उम्मेदवारी दर्ता गरेकी छन् । यसअघि यही क्षेत्रबाट निर्वाचनमा पराजित भएकी उपाध्याय फेरि पनि सोही क्षेत्रबाट चुनावी मैदानमा उत्रिएकी हुन् । गत प्रतिनिधिसभा निर्वाचन (२०७९) मा उपाध्याय मकवानपुर–१ बाट कांग्रेसको तर्फबाट उम्मेदवार बनेकी थिइन् । सत्तारुढ गठबन्धनको समर्थन पाएकी उनी कडा प्रतिस्पर्धाका बाबजुद विजयी हुन सकिनन् । उक्त निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का दीपक बहादुर सिंह विजयी भएका थिए । निर्वाचन परिणामअनुसार राप्रपाका सिंहले २७ हजार ८१६ मत प्राप्त गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। नेपाली कांग्रेसकी उम्मेदवार उपाध्यायले २५ हजार ४२३ मत ल्याएकी थिइन् । त्यसैगरी, राप्रपा नेपालका अध्यक्ष कमल थापा ले २५ हजार ४२० मत प्राप्त गरेका थिए। उपाध्याय र थापाबीचको मतान्तर जम्मा तीन मत मात्र भए पनि दुवै उम्मेदवार सिंहभन्दा पछि परे । उपाध्याय सिंहसँग करिब २ हजार ३९३ मतको अन्तरले पराजित भएकी थिइन्। विश्लेषकहरूका अनुसार मकवानपुर–१ मा भएको त्रिपक्षीय प्रतिस्पर्धा, राप्रपाको बलियो संगठन तथा मत विभाजन उपाध्यायको पराजयका प्रमुख कारण मानिन्छन् । गठबन्धन भए पनि मत एकीकृत हुन नसक्दा कांग्रेसले अपेक्षित परिणाम हासिल गर्न नसकेको टिप्पणी त्यसबेला व्यापक रूपमा गरिएको थियो । यसपटक पुनः उम्मेदवारी दर्तासँगै मकवानपुर–१ मा चुनावी सरगर्मी बढेको छ। अघिल्लो निर्वाचनको झिनो मतान्तर र प्रतिस्पर्धात्मक परिणामलाई आधार मान्दा यस क्षेत्रलाई फेरि पनि चुनावी दृष्टिले संवेदनशील र निर्णायक क्षेत्रका रूपमा हेरिएको छ।