सोसल मिडिया
Contact Us
युनिकोड
मस्को । डसेम्बर महिनाको सुरुमै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले धेरैलाई आश्चर्यचकित पार्दै डिसेम्बर ५ देखि आफ्नो देशमा कोरोनाभाइरसविरुद्ध ठूलो परिमाणमा खोप कार्यक्रम सुरु हुने घोषणा गरे । ‘खोपबारे मलाई मात्रै जानकारी दिनुभन्दा आगामी सातादेखि खोप दिन नै सुरु गरौँ’, उनले उपप्रधानमन्त्री तातियाना गोलिकोभालाई त्यसको केही दिनअघि भनेका थिए । ‘पक्कै पनि’, उनले उत्तर दिइन् । स्पुत्निक खोप सार्वजनिक गर्ने विषय साँच्चै सुरु भइसकेको छ । तर यसबारे सर्वसाधारणहरूको संशय व्यक्त गरिरहेका छन् । विश्वभरि लाखौँको मृत्युको कारण बनेको कोरोनाभाइरसविरुद्धको खोप लगाएर बस्न आखिर किन रुसीहरू आनाकानी गरिरहेका छन् त ? मस्कोमा बस्ने रुसीहरूका लागि खोप लगाउने काम सहज नै देखिन्छ । उनीहरूले एउटा वेबसाइटमा गएर खोपका लागि आफ्नो नाम दर्ता गर्न सक्छन् । सुरुमा १८ देखि ६० वर्षका चिकित्सकीय सेवामा लागेका, शिक्षक र सामाजिक सेवामा लागेका मानिसहरूलाई खोप दिइएको थियो । खोप निःशुल्क रूपमा उपलब्ध गराइएको थियो र मस्कोका नगरप्रमुखको कार्यालयका अनुसार ५,००० मानिसले सुरुका केही घण्टामै आफ्नो नाम दर्ता गरेका थिए । त्यसको दुई सातासम्म मस्कोका कैयौँ क्लिनिक खाली देखिन्थ्ये । एउटा रुसी पत्रिकाका अनुसार एक नर्सले सोमवार खोप लिन कोही पनि नआएपछि स्पुत्निकको मात्रा फ्याँक्नुपरेको थियो । मस्कोको एउटा खोप केन्द्रमा उपस्थित केही यस्ता सर्वसाधारण थिए जो खोपबारे पूर्ण रूपमा विश्वस्त थिए । तर संख्या कम हुनुले त्यस्तो विश्वास सबैमा नरहेको संकेत गर्छ । सुरुमा खोप दिइने भनिएकाभन्दा फरक समूहका मानिसहरूलाई समेत खोप दिइएको प्रमाण छन् । बीबीसीले कुरा गरेको धेरैले आफूहरूलाई खोप प्राप्त गर्ने समूहमा रहेको प्रमाणित गर्नका लागि आवश्यक पर्ने कागजपत्र पनि नमागिएको बताए । रुसी खोप गत अगस्ट महिनाको ११ तारिखमा त्यहाँको स्वास्थ्य मन्त्रालयमा दर्ता गरिएको थियो । दोस्रो चरणको क्लिनिकल परीक्षण सम्पन्न भएको भोलिपल्टै हतारहतार त्यसो गरिएको थियो । खोपको परीक्षण सामान्यतया तीन चरणमा गरिन्छ । सामान्यतया पश्चिमा राष्ट्रका नियामकहरूले तेस्रो चरणको परीक्षणको नतिजा आएपछि मात्रै खोप लाई प्रमाणित गर्ने गर्छन् । स्पुत्निकको तेस्रो चरणको परीक्षण अझै जारी छ भने यसको दोस्रो चरणको परीक्षण पनि निकै कम अनुपातमा गरिएको थियो । दोस्रो चरणको परीक्षणमा जम्मा ७६ जना स्वयंसेवक सहभागी भए । त्यसमा पनि सबै स्वस्थ पुरुष अनि महिला सहभागी थिए । साठी वर्षभन्दा माथिका कोही थिएनन् । यूकेको अक्सफोर्ड यूनिभर्सिटीले बनाएको खोपको सुरक्षासम्बन्धी परीक्षणमा २५६ जना सहभागी थिए । त्यस्तै फाइजर–बायोएन्टेकले विकास गरेको खोपको उहीँ चरणको परीक्षणमा ४५६ र मोडेर्नाको हकमा ६०० जना सहभागी भएका थिए । यीमध्ये कुनै पनि खोपलाई दोस्रो चरणको परीक्षणलगत्तै दर्ता गरिएको थिएन ।
तथ्यांकको कमी स्पुत्निक खोप कोरोनाभाइरसविरुद्ध ९५ प्रतिशत प्रभावकारी रहेको दाबी रुसको छ । हाल उपलब्ध खोपमध्ये रुसको स्पुत्निकबारे सबैभन्दा कम जानकारी उपलब्ध छ । यसको परीक्षणको तथ्यांकमा वैज्ञानिकहरूको अन्तर्राष्ट्रिय समुदायलाई पहुँच उपलब्ध गराइएको छैन । प्रेस विज्ञप्तिका रूपमा सामान्य तथ्यांक मात्रै सार्वजनिक गरिएको छ । योभन्दा नितान्त फरक फाइजरले २०,००० मानिसमा गरेको परीक्षणको तथ्यांक उपलब्ध छ भने मोडेर्नाको १५,००० अनि अक्सफोर्डको १०,००० सर्वसाधारणको परीक्षणको जानकारी उपलब्ध छ । अमेरिका र युरोपमा विकास गरिएका खोपजस्तै स्पुत्निकले कोरोनाभाइरसविरुद्ध ९५ प्रतिशत प्रभावकारी रहेको दाबी रुसको छ । तर उसको दाबी अन्तरिम नतिजाका आधारमा तय गरिएको छ । त्यस्तै परीक्षणकै बेला ३९ जना सहभागीलाई कोरोनाभाइरस लागेको थियो ।
परीक्षणमा स्वयंसेवक परीक्षणकै चरणमा समेत केही रुसीहरूमा संशय र अविश्वास देखिएको थियो । स्पुत्निकको परीक्षणमा ४०,००० स्वयंसेवकहरूको सहभागिता हुने अपेक्षा गरिएको थियो । परीक्षणमा सहभागीहरूलाई परीक्षणमा सहभागी भएको प्रमाण आफ्ना व्यवस्थापकलाई देखाउन प्रोत्साहन गरिएको थियो । सहभागीहरूले बताएअनुसार त्यसो नगर्दा तीन महिनाको अवधिमा बाँडिने अतिरिक्त रकम (बोनस) जोखिममा पर्न सक्ने हुन्थ्यो ।–बीबीसी