नियोजित र षड्यन्त्रपूर्ण निर्णय गरियो, राजनीतिक र कानूनी लडाईं लड्छौं : प्रकाशशरण महत

शुक्रबार, माघ २, २०८२

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले गगन थापा पक्षलाई कांग्रेसको आधिकारिकता दिने निर्वाचन आयोगको निर्णय नियोजित र षड्यन्त्रपूर्ण रहेको प्रतिक्रिया दिएका छन् । आयोगको निर्णय अस्वीकार्य रहेको उनले बताए । ‘यो निर्णयविरुद्ध हामी राजनीतिक र कानूनी लडाईंमा जन्छौं, आयोगको निर्णय मान्य छैन,’ महतले भने । आयोगले शुक्रबार विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिने निर्णय गरेको थियो । ‘आयोगको निर्णय पार्टीको विधान, दलसम्बन्धी नियमावली र अहिलेसम्म दलमा विवाद आउँदा आयोगले गरेका निर्णयको नजीरको खिलाफमा छ । नियोजित र षड्यन्त्रपूर्ण छ’ महतले लोकान्तरसँग भने, ‘पहिलेदेखिको तयारीमा यो भएको बुझ्न सकिन्छ । यो निर्णय हामी मान्दैनौं र कानूनी उपचारमा जान्छौं ।’ कांग्रेसका निवर्तमान प्रवक्ता समेत रहेका महतले आयोगले निर्णय लिने बेला आफूहरूसँग परामर्श समेत नगरको आरोप लगाए । ‘आयोगले हामीलाई आधिकारिक रूपमा बोलाउँदा पनि बोलाएन । पहिल्यैदेखि नियोजित थियो । हाम्रो आधारलाई सुन्ने रहेनछ,’ महतले भने ।

प्रकाशित मिति: शुक्रबार, माघ २, २०८२  २०:३९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार