सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । विशेष महाधिवेशन पक्षधर नेपाली कांग्रेसले गगनकुमार थापाको नेतृत्वमा केन्द्रीय कार्यसमिति चयन भएको जानकारी निर्वाचन आयोगलाई गराएको छ । महाधिवेशनले चयन गरेको कार्यसमिति तथा अन्य निर्णय दल दर्ता किताबमा अद्यावधिकका लागि पत्र पनि कांग्रेसले आयोगमा बुझाएको छ । विशेष महाधिवेशनबाट निर्वाचित सभापति थापासहितका पदाधिकारी बिहीबार आयोग पुगेका थिए । सभापति थापाले कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई विशेष महाधिवेशन तथा केन्द्रीय समितिले गरेका निर्णय अद्यावधिक गरिदिन आग्रह गरे । पार्टीको विधानको धारा १७ (२) को प्रावधानअनुसार विशेष महाधिवेशन बोलाइएको उनले जानकारी दिए । ‘४० प्रतिशत महाधिवेशन प्रतिनिधिले तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनैपर्ने व्यवस्था विधानमा छ,’ उनले भने, ‘त्यसैले सबै रीत पूरा गरेर २७–३० पुसमा विशेष महाधिवेशन सम्पन्न भएको छ ।’ बैठक सञ्चालनका लागि विधानको धारा ४६ मा तोकिएको गणपूरक संख्याभन्दा बढी उपस्थित भएर विशेष महाधिवेशनले कार्यसमिति चयन र अन्य निर्णय गरेको समेत थापाले जानकारी गराए । दलको निर्णय अद्यावधिका लागि आवश्यक सबै प्रक्रिया पूरा गरेर कागजात पेस गरिएको उनको भनाइ थियो । प्रतिनिधिसभा निर्वाचन नजिक रहेको र ६ माघमा उम्मेदवारी दर्ता गर्नुपर्ने भएकाले पार्टी महाधिवेशनबाट भएका निर्णयलाई जतिसक्दो चाँडो अभिलेखीकरण गरिदिन पनि थापाले आयोगको ध्यानाकर्षण गराएका थिए । विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिको बैठक ललितपुरको कुपन्डोलमा गरिसकेपछि पदाधिकारी आयोग पुगेका थिए । आयोगमा सभापति थापाले कार्यसमिति बैठकमा भएका निर्णयबारे समेत जानकारी गराएका थिए । बैठकले थापाको नेतृत्वमा निर्वाचन घोषणापत्र लेखन समिति, उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा निर्वाचन परिचालन समिति गठन गरेको थियो । प्रत्यक्षतर्फका उम्मेदवार चयनका लागि संसदीय बोर्ड गठन गरिएको थियो ।
थापाले बोलिसकेपछि कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले कांग्रेस पदाधिकारीसँगै आयोग पुगेका वरिष्ठ अधिवक्ता हरिहर दाहाललाई केही धारणा छ कि भनेर सोधेका थिए । जवाफमा दाहालले पार्टीको विधानअनुसार नयाँ नेतृत्व चयन भएको बताएका थिए । ‘विशेष महाधिवेशनका प्रक्रिया हामीले कानुनविद्को हैसियतले अध्ययन, विश्लेषण गर्यौं । पार्टी विधानले विशेष महाधिवेशनको परिकल्पना गरेको छ । द्विविधारहित र निर्बाध ढंगले पर्याप्त बहुमत पुर्याएर विशेष महाधिवेशन सम्पन्न भएको छ,’ उनले भने, ‘६ माघमा मनोनयन दर्ता गर्न उम्मेदवार जिल्ला जानुपर्ने हुन्छ । आयोगले जतिसक्दो छिटो मार्गप्रशस्त गरिदिन आग्रह गर्छु ।’ दाहालको भनाइ सकिएपछि सभापति थापाले महाधिवेशन प्रतिनिधिले पार्टीमा विशेष महाधिवेशन माग गरेको पत्र, विशेष महाधिवेशन आह्वानका लागि पार्टी केन्द्रलाई पटक–पटक आग्रह गरिएका पत्र, विशेष महाधिवेशन आयोजना गर्नका लागि आह्वान गरिएका पत्र, विशेष महाधिवेशनका सम्पूर्ण प्रक्रियाको विस्तृत विवरण राखिएका पत्र कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीलाई बुझाएका थिए । त्यति बेला अर्का आयुक्त सगुनशमशेर राणा तथा आयोगका अन्य अधिकारी पनि उपस्थित थिए । आयोगमा कागजात बुझाइसकेपछि सभापति थापाले आयोगमा विवरण छिट्टै अद्यावधिक हुने अपेक्षा रहेको प्रतिक्रिया दिए । ‘पार्टी केन्द्रीय समिति नयाँ आएको छ, यसलाई अद्यावधिक गरिदिनुहोला भन्ने निवेदन लिएर आएका हौं । यसका लागि पुष्टि गर्न चाहिने कागजात बुझाएका छौं,’ उनले भने, ‘यो राजनीतिक दलको कुनै विवादसम्बन्धी विषय होइन, महाधिवेशन सम्पन्न भएर अद्यावधिक गर्ने विषय हो । ढिलोमा पनि पर्सिभित्र आयोगका तर्फबाट अद्यावधिक भइसक्छ भन्ने विश्वास छ ।’ विशेष महाधिवेशन पक्षधरले भृकुटीमण्डपमा महाधिवेशन जारी रहेका बेला पनि निर्वाचन आयोगलाई जानकारी गराएको थियो । पार्टी विधानअनुसार माग गरिएको विशेष महाधिवेशन बोलाउन केन्द्रीय कार्यसमिति तयार नदेखिएकाले केन्द्रीय कार्यसमितिलाई निर्देशन दिन पनि १६ पुसमा निवेदन दिइएको थियो । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार देउवा पक्षले भने कुनै कार्यक्रम नगरिएको र गगन थापासहित तीन पदाधिकारीलाई केन्द्रीय कार्यसमितिबाट कारबाही गरिएको जानकारी आयोगलाई दिएको छ । विशेष महाधिवेशन पक्षधरले निर्णयहरू बुझाएपछि बुधबार नै आयोगमा अनौपचारिक छलफल भएको थियो । त्यसपछि अध्ययनको जिम्मा कानुन महाशाखालाई लगाइएको छ । राजनीतिक दलको विवाद टुंग्याउन आयोगले लामो समय लगाउने गरेको विगतका उदाहरण छन् । २०७७ मा तत्कालीन नेकपामा देखिएको आधिकारिकताको विवादमा आयोगले दुई महिनाभन्दा बढी समयसम्म निर्णय नै दिएको थिएन । सर्वोच्च अदालतले नेकपालाई एकतापूर्वको अवस्था (एमाले र माओवादी केन्द्र कायम रहने) रहने आदेश दिएपछि विवाद किनारा लागेको थियो । दलले आफ्नो नाम, विधान, नियम, छाप, झन्डा वा चिह्नमा भएको परिवर्तन वा संशोधन, पदाधिकारीको हेरफेर र आयोगले तोकेबमोजिमका अन्य विषयको जानकारी ३० दिनभित्र आयोगलाई दिनुपर्ने व्यवस्था राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ मा छ । त्यही दफाअनुसार थापाले नयाँ कार्यसमिति चयन भएको विषयको जानकारी आयोगलाई गराएका हुन् । दलले त्यसरी अद्यावधिक गराउन पठाएको जानकारीलाई आयोगले संविधान, ऐन, नियम र दलको विधानबमोजिम भए गरेको पाइए तोकिएबमोजिम दल दर्ता किताबमा अद्यावधिक गरिदिने व्यवस्था छ । त्यसका लागि कुनै समयसीमा निर्धारित छैन । आयोगलाई विशेष महाधिवेशन पक्षले गरेको निर्णय सही लागे तत्कालै अभिलेखीकरण गरिदिन सक्छ ।
१६ पुसदेखि नै पटक–पटक पत्राचार कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिले विशेष महाधिवेशनको औचित्य समाप्त भएको उल्लेख गर्दै १५ पुसमा विज्ञप्ति जारी गरेको थियो । नियमित महाधिवेशन पनि वैशाखमा सारिएपछि तत्कालीन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले फरक मत राख्दै विज्ञप्ति जारी गरे । केही दिनमै उनीहरूले विशेष महाधिवेशन आह्वान गरे । त्यससँगै विशेष महाधिवेशन पक्ष मनोजमणि आचार्यका नामबाट निर्वाचन आयोगमा पत्राचार सुरु भयो । आचार्यले १६ पुसमा निर्वाचन आयोगलाई पत्र पठाएका थिए । आयोगसँगको पत्राचारमा सुरुदेखि संलग्न अधिवक्ता प्रताप पौडेलका अनुसार सुरुको पत्रमा विशेष महाधिवेशनका सम्बन्धमा कार्यसम्पादन समितिको निर्णय गलत रहेको जानकारी गराइएको थियो । काठमाडौंको भृकुटीमण्डपमा दोस्रो विशेष महाधिवेशन उद्घाटन भएको तेस्रो दिन २९ पुसमा आयोगलाई तेस्रो पत्र पठाइएको थियो । ‘२७ पुसमा विशेष महाधिवेशन उद्घाटन भयो । २८ पुसमा बन्दसत्रले विशेष महाधिवेशन कार्यविधि पारित गरेको छ । त्यसका आधारमा प्रतिवेदन, प्रस्ताव पेस भई समूहगत छलफलका क्रममा रहेका छन् । नेतृत्व निर्वाचन प्रक्रियसमेत अगाडि बढिसकेको हुनाले यो प्रक्रिया सकिएपछि निर्वाचन आयोगमा अद्यावधिक गर्न आउने पूर्वजानकारी गराउँछौं,’ तेस्रो पत्रमा भनिएको थियो, ‘विशेष महाधिवेशन चलिरहेका बेला कांग्रेसका नाममा अन्य कुनै पत्र, सूचना, जानकारी आए त्यसलाई मान्यता प्रदान नगरिदिनु भनी आग्रह गर्दछौं ।’ पार्टीको विशेष महाधिवेशनले नयाँ नेतृत्व चयन गरेपछि सभापति गगन थापा पदाधिकारीहरूसहित बिहीबार निर्वाचन आयोग पुगेका हुन् । कांग्रेसका तर्फबाट आयोगमा बुझाइएको चौथो पत्रमा १६ पुसदेखि जानकारी गराउँदै आएको विधान, नेतृत्व र नीति परिवर्तनबारे जानकारी छ । त्यस्तै, प्रतिनिधिसभाको आसन्न निर्वाचनमा आधिकारिक व्यक्ति भनेर हस्ताक्षरकर्ता शेरबहादुर देउवा भनेर यसअघि पत्राचार भएकामा विशेष महाधिवेशनले गगन थापालाई सभापति चुनेको हुँदा त्यसको पनि परिमार्जन गर्नका लागि आग्रह गरिएको छ । समानुपातिकतर्फको उम्मेदवारबारे आगामी दिनमा केही काम गर्नुपरे पनि थापाको हस्ताक्षर नै चल्ने भनी लेखिएको छ । कांग्रेसले विशेष महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर, नागरिकतालगायतका विवरण पनि आयोगमा बुझाएको छ ।