सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवशेनबाट निर्वाचित भएका सभापति गगनकुमार थापाले दलको पदाधिकारीसहितका विवरण परिर्वतन भएकाले निर्वाचन आयोगमा अद्यावधिक गराउन निवदेन दिएका छन् । कांग्रेसको विधानअनुसार विशेष महाधिवेशन सम्पन्न भएपछि दलको पदाधिकारीसहितका विवरण परिर्वतन भएकाले निर्वाचन आयोगमा अद्यावधिक गराउन सभापति थापाले निवदेन दिएका हुन् । निवेदन दिएपछि सभापति थापाले यस विषयमा छिट्टै निर्णय दिन निर्वाचन आयोगलाई आग्रह पनि गरेका छन् । निर्वाचन आयोग पुगेको टोलीले कार्यवाहाक प्रमुख आयुक्त रामप्रसाद भण्डारीसहितका आयुक्तलाई भेटेर टोलीले छिटो निर्णय गर्न आग्रह गरेको छ । ‘राजनीतिक दलसम्बन्धी ऐनको व्यवस्थाअनुसार अद्यावधिक गराउनुपर्ने भएकाले हामी आयोगमा आएका छौं,’ थापाले भने, ‘निर्वाचन आयोगले छिटोभन्दा छिटो यसमा निर्णय गरिदिन अनुरोध गर्दछौं ।’ उनले विधानअनुसार विशेष महाधिवेशन सम्पन्न भएको भन्दै आवश्यक सबै विवरण साथै पेस गरेको बताए । आयोगमा नवनिर्वाचित समितिसहित कानुनविद् पनि पुगेका थिए । वरिष्ठ अधिवक्ता हरिहर दाहाल, यदुनाथ खनाल टोलीमा थिए भने । सभापति थापासहित उपसभापतिहरु विश्वप्रकाश शर्मा, पुष्पा भुसाल लगायत अरु नेता पनि निर्वाचन आयोग पुगेका थिए । आयोगले थापा पक्षले दिएको निवेदन स्वीकार गरेको छ भने कुनै प्रतिक्रिया दिएको छैन ।
आवश्यक सबै कागजात निर्वाचन आयोगमा बुझाइसकेको छौं : गगन थापा
नेपाली कांग्रेसका सभापति गगन थापाले विशेष महाधिवेशनबाट भएका निर्णय नै पार्टीका लागि सर्वोपरी हुने दाबी गरेका छन् । विशेष महाधिवेशनका निर्णयहरू अद्यावधिक गराउन निर्वाचन आयोग पुगेका थापाले सञ्चारकर्मीहरूसँग कुरा गर्दै विधानअनुसार नै विशेष महाधिवेशन सम्पन्न गरिएको बताए । उनले नेतृत्व परिवर्तनसम्बन्धी आवश्यक सबै कागजात आयोगमा बुझाइसकेको जानकारी दिए । उनले भने, ‘विशेष महाधिवेशनले नेतृत्व चयनसम्बन्धी निर्णयसमेत गरेको छ, जसका कारण विद्यमान केन्द्रीय कार्य समिति परिवर्तन भइसकेको छ । नयाँ केन्द्रीय कार्य समितिको विवरण राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ५१ बमोजिम निर्वाचन आयोगमा अद्यावधिक गराउनुपर्ने व्यवस्था छ । सोही अनुसार हामीले आयोगमा निवेदन दिएका हौं ।’ थापाका अनुसार कांग्रेस पार्टीको विधानको धारा १७ को उपधारा २ अनुसार विशेष महाधिवेशन आयोजना गरिएको हो । उनले पार्टी विधानको धारा १५ अनुसार महाधिवेशन पार्टीको सर्वोच्च निकाय भएकाले त्यसले गरेका निर्णय नै अन्तिम र सर्वोपरी हुने स्पष्ट पारे । थापाले आयोगमा आवश्यक सबै विवरण तथा प्रमाण बुझाइसकिएको बताउँदै माघ ६ गते उम्मेदवारी मनोनयनको कार्यक्रम रहेकाले भोलि वा पर्सीसम्म अद्यावधिक प्रक्रिया टुंगिने विश्वास व्यक्त गरे । उनले विशेष महाधिवेशनका निर्णयहरू सार्वजनिक भइसकेको पनि उल्लेख गरे । उनले भने,‘हामीले आज निर्वाचन आयोगमा त्यही कुरा हाम्रो विशेष अधिवेशन सम्पन्न भयो र त्यसले लिडरसिप परिवर्तन गरेको छ । केन्द्रीय कार्यसमिति नै नयाँ आएको छ । त्यसलाई अद्यावधिक गरिदिनुहोला भनेर आयोगमा निवेदन लिएर आएका हौं । चाहिने सबै विवरण हामीले बुझाएका छौं । माघ ६ गते उम्मेदवारी मनोनयनको कुरा छ । त्यसैले भोलि ढिलोमा पर्सीसम्ममा अद्यावधिकको काम टुङ्गिन्छ भन्ने विश्वास छ । हामीले सबै तथ्य प्रमाणसहित बुझाएका छौँ । बाहिर पनि सार्वजनिक छन् ।’ त्यस्तै,महामन्त्री प्रदीप पौडेलले कांग्रेस पार्टी विधानले निर्दिष्ट गरेअनुसार चल्नेपार्टी भएको भन्दै सोही अनुसार नै पार्टी चलिरहेको दाबी गरे । विधानभन्दा बाहिर गएर संवाद गरेर सहमति खोज्न सम्भव नुहने उनको भनाई छ । उनले भने,‘कांग्रेस पार्टी त विधानले निर्दिष्ट गरेअनुसार चल्ने होला नि त । सोही अनुसार नै पार्टी चलिरहेको छ । विधानभन्दा बाहिर गएर संवाद गरेर सहमति खोजौं भनेर सम्भव हुँदैन ।’