सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगमा दलले बुझाएको समानुपातिक बन्दसूचीबाट ५४ जनाले नाम फिर्ताका लागि निवेदन दिएका छन् । निवेदन दिनेको संख्या ५४ रहेको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । आयोगले सोमबार समानुपातिकतर्फका उम्मेदवारले आफ्नो नाम फिर्ता लिने समय बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म तोकेको थियो । उम्मेदवारी फिर्ता लिन निवेदन दिनेमा धेरै जनमत पार्टीका छन् । जनमतका २० जनाले निवेदन दिएका छन् । त्यसपछि राष्ट्रिय स्वतन्त्र पार्टीका १२ र एमालेका ३ जना छन् । निर्वाचन आयोग स्रोतका अनुसार त्यो संख्या अझै थपिन सक्छ । एमालेका खसआर्यतर्फ नाम राखेका ठाकुरप्रसाद शर्मा, मधेशी महिलातर्फ अंशु सिंह, आदिवासी जनजातीतर्फ विजयसिंह लामाले नाम फिर्ताका लागि निवेदन दिएका हुन् । बन्दसूचीमा नाम रहेका व्यक्तिहरु स्वयं उपस्थित भएर नाम फिर्ता लिने निवेदन दिइरहेका छन् । १३ र १४ पुसमा ५८ चुनाव चिह्नबाट चुनावमा प्रतिस्पर्धा गर्ने गरी ६४ राजनीतिक दलले समानुपातिकतर्फ चुनावमा भाग लिने गरी बन्दसूची बुझाएका थिन् । प्रतिनिधिसभाको २ सय ७५ सिटमा १ सय १० जना समानुपातिक प्रणालीबाट छानिन्छन् ।