सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेपाली कांग्रेसका नेता सुनिल शर्माले पार्टी नेतृत्वमाथि कडा प्रश्न उठाएका छन् । आइतबार नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै शर्माले सभापति शेरबहादुर देउवा र केन्द्रीय समितिका नेताहरूले कार्यकर्ताको भूमिकालाई अवमूल्यन गरेको आरोप लगाए । टेलिभिजन तथा सामाजिक सञ्जालमार्फत कार्यक्रम हेरिरहेका नेताहरूलाई लक्षित गर्दै उनले पूर्वदेखि पश्चिम र दार्चुलादेखि ताप्लेजुङसम्मबाट आएका कार्यकर्ता तथा नेताहरूको अनुहारले गिज्याइरहेको छ कि छैन भन्ने प्रश्न गरे । शर्माले नेपाली कांग्रेस बुद्धका सन्तान भएको उल्लेख गर्दै पार्टीले हिंसा र झगडामा होइन, मध्यमार्गी विचार, सिद्धान्त र नीतिमा विश्वास गर्ने स्पष्ट पारे । उनले भने, ‘टेलिभिजन या फेसबुकमा लाईभ हेर्दै हुनुहुन्छ होला, हामी सभापति शेरबहादुर देउवादेखि केन्द्रीय समितिमा ज–जसले साथीहरुको मासुम अनुहारहरुको अवमूल्यन गर्नुभयो । उहाँहरुलाई हामी यहाँबाट प्रश्न सोध्न चाहन्छौं पूर्वदेखि पश्चिमसम्म र दार्चुलादेखि ताप्लेजुङसम्म आएका क्रियाशीलदेखि देखी केन्द्रीय नेताहरु र महामन्त्रीद्धयहरुको यो मासुम अनुहारले तपाईंहरुलाई गिज्याईरहेको छ की छैन ? हामी बुद्धका सन्तान हौं । हामी मारकाटमा विश्वास गर्दैनौं, हामी झगडामा विश्वास गर्दैनौं । हाम्रो क्यारेक्टर, हाम्रो सिद्धान्त, नीति, विचार मध्यमार्गी बाटो हो।’ सभापति देउवाप्रति लक्षित गर्दै शर्माले उनको ऐतिहासिक योगदानको सम्मान गरे पनि अब जिम्मेवारीपूर्वक निर्णय लिन आग्रह गरे । देउवालाई ‘पिता समान नेता’ भन्दै उनले उमेर र समयको सन्दर्भ उल्लेख गर्दै कार्यकर्ताको भावनालाई ख्याल गर्नुपर्ने बताए । उनले सभापति देउवालाई महाधिवेशन हल उद्घाटन उपस्थित हुन आग्रह गर्दै नेतृत्व चयनका लागि विभिन्न विकल्प खुला रहेको बताए । ‘तपाईंलाई अब उमेरका कारणले माथिबाट बोलाइरहेका बेलामा आफ्ना कार्यकर्ता हिजो जसले तपाईंलाई भोट हाल्यो, हिजो जसले तपाईंलाई सभापति बनायो र पटक पटक जसले सत्तामा पुर्यो अब त्यो रोइलो छोडेर भोलि बिहान हल उद्घाटन गर्न आउनुुस् । पहिलो विकल्प तपाईं आफैं चुनावमा उठ्नुहोस्, जसले हारेपनि लोकतन्त्र र प्रजातन्त्रले जित्छ,’ शर्माले भने । चुनावमा हार्ने नेताहरूलाई समेत फूलमाला लगाएर सम्मानपूर्वक घरसम्म पु¥याउने पार्टी संस्कार रहेको उनको भनाइ थियो ।