सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को आगामी निर्वाचन २०८२ को लागि अध्यक्ष पदमा उम्मेद्वारी दिएका लक्ष्मण पौडेलले इक्यान संस्था मात्र नभई एउटा परिवार जस्तो भएको बताएका छन् । शनिबार ‘सक्षम नेतृत्व, सशक्त इक्यान’ भन्ने नारासहित आयोजित कार्यक्रममा बोल्दै पौडेलले यो क्षेत्रमा दुई दशकभन्दा बढी समय बिताएको बताए । पौडेलले आफ्नो अनुभव साझा गर्दै साधारण सदस्यदेखि भाइस प्रिसिडेन्टसम्मको जिम्मेवारी सम्हाल्दा संस्थाको काम, चुनौती र सम्भावना नजिकबाट बुझ्ने अवसर पाएको बताए । उनले भने, ‘इक्यान मेरो लागि संस्था मात्रै होइन, यो परिवार हो । मैले यो क्षेत्रलाई मेरो जिवनको हिस्सा बनाएको दुई दशक भन्दा बढी भयो । आज म जे छु त्यसमा यो क्षेत्रको ठूलो भूमिका छ । इक्यानको ८ वटा शाखा, ७ सय भन्दा बढी सदस्यहरु रहेको यो संस्थामा मेरो यात्रा गाँसिएको छ । यो क्षेत्रमा मेरो आज २० वर्ष भयो, इक्यान सँगको यात्रा १० वर्षको भयो । यही संस्थाको जिम्मेवार पद भाइस प्रिसिडेन्टको रुपमा काम गरेको पनि २ वर्ष भएको छ । तपाईंहरुको विश्वासले मलाई राम्रो मतका साथ भाइस प्रिसिडेन्ट बने, जहाँ गए त्यो क्षण सम्झिँदा आज खुसी लाग्छ । किनभने त्यो पद भन्दा ठूलो तपाईंहरुको भरोसा थियो । साधारण सदस्यदेखी फस्ट भाइस प्रिसिडेन्टसम्मको जिम्मेवारी सम्हाल्दा इक्यानको काम त्यसको चुनौति र सम्भावनालाई मैले अझै नजिकबाट बुझ्ने मौका पाएँ । बुझ्दै जाँदा एउटा कुरा प्रस्ट भयो, जसरी हत्केलाले सूर्यलाई छेक्न सकिँदैन त्यसैगरी हामीले पनि यो क्षेत्रमा समस्या छैन भन्न सकिँदैन ।’ साथै, उनले अब संस्थाको उद्देश्य अव्यवस्थित क्षेत्रलाई व्यवस्थित, मर्यादीत र सम्मानित बनाउनु रहेको बताए । व्यवसाय सुरु गर्दा अनुमति, स्वीकृति र नविकरणका प्रक्रिया, सञ्चालन गर्दा उजुरी, गुनासो र निवेदनको व्यवस्थापनमा इक्यानको भूमिका आवश्यक हुने उनले उल्लेख गरे । उनले भने, ‘अब हाम्रो लक्ष्य अव्यवस्थितलाई व्यवस्थित मात्र होइन, मर्यादीत र सम्मानित बनाउने हो । व्यवसाय सुरु गर्दा अनुमति स्वीकृति नविकरणका कुराहरु आउँछन् र सञ्चालन हुँदै गर्दा उजुरी, गुनासो र निवेदनका कुराहरु आउँछन् । समाधानका लागि अनुगमन र नियमका कुरा आउँछन्, त्यो सबै चरणमा इक्यानको भूमिका हुनुपर्छ भन्ने प्रश्नले आज अझ जिम्मेवार बनाएको छ ।’