सोसल मिडिया
Contact Us
युनिकोड
मकवानपुर । जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले ‘चालक तथा यात्रुसँग ट्राफिक सचेतना सम्बन्धी ५ मिनेट कार्यक्रम’ सम्पन्न गरेको छ । गएरातिदेखि सञ्चालन गरिएको उक्त कार्यक्रम जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी निरीक्षक बच्चुराम फुयालको कमाण्डमा भीमफेदी गाउँपालिका–२, भैँसे क्षेत्रमा सञ्चालन गरिएको हो । कार्यक्रमअन्तर्गत चलिरहेका सवारी साधनका चालकहरूको मादक पदार्थ सेवन (मापसे) चेकजाँच गरिएको थियो भने सवारी साधनहरूको प्राविधिक अवस्था समेत जाँच गरिएको ट्राफिक प्रहरीले जनाएको छ । सचेतना कार्यक्रमका क्रममा चालकहरूलाई ट्राफिक नियमको पालना, सुरक्षित गति, सिट बेल्ट र हेल्मेटको प्रयोग, ओभरलोड नगर्नेलगायत विषयमा जानकारी गराइएको थियो। साथै यात्रुहरूलाई पनि यात्रा सुरु गर्नुअघि सवारी साधनको अवस्था, चालकको होसहवास र योग्यता बारे जानकारी लिएर मात्र यात्रा गर्न सुझाव दिइएको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका अनुसार यस्ता सचेतनामूलक कार्यक्रमहरू निरन्तर सञ्चालन गरिने र यसले सवारी दुर्घटना न्यूनीकरणमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।