सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । नेपाली कांग्रेसको आइतबारदेखि शुरू हुने विशेष महाधिवेशनका लागि काठमाडौँका फरक फरक स्थानमा ३६ सय प्रतिनिधिका लागि आवासको व्यवस्थापन गरिएको छ । महाधिवेशन आयोजना स्थल भृकुटीमण्डपमा शनिबार दिउँसो आयोजित विशेष महाधिवेशन नियमित पत्रकार सम्मेलनमा यो जानकारी दिइएको हो । महाधिवेशनका लागि गठन गरिएको आवास तथा खाना व्यवस्थापन समितिका संयोजक रमेश धमलाका अनुसार काठमाडौँका सुन्धारा, बागबजार, ठमेल, एयरपोर्ट, सिनामंगल र गौशाला क्षेत्रका विभिन्न होटल बुक गरिएको छ । सुन्धारा, ठमेल र एयरपोर्ट सिनामंगल गौशाला क्षेत्रमा एक–एक हजार प्रतिनिधिका लागि आवासको व्यवस्था गरिएको तथा थप दुई–दुई सय प्रतिनिधिका लागि तत्काल व्यवस्थापन हुनेगरी प्रबन्ध मिलाइएको धमलाले जानकारी दिए । विशेष महाधिवेशनमा सहभागी हुन आउने प्रतिनिधिहरुका लागि होटलमा बसोबासको व्यवस्थापनका लागि प्रदेश विभाजन गरेर होटल समन्वयको जिम्मा दिइएको छ । यसैगरी विदेशबाट आउने प्रतिनिधिहरूका लागि ठमेलस्थित इन्काउन्टर होटलमा बसोबासको व्यवस्था गरिएको छ भने अपांगता भएका व्यक्तिहरुका लागि बागबजारमा रहेको एक होटलमा व्यवस्थापन गरिएको छ । यसैगरी महाधिवेशन प्रतिनिधिहरुका लागि पुस २७ गते आइतबारका लागि बेलुकी सादा खानाको व्यवस्थापन गरिएको छ । २७ गतेको खाना भृकुटीमण्डपमा हल भित्रै हुनेछ । यसैगरी पुस २८ गते विहान ब्रेकफास्ट, दिउँसो मटन खानाको व्यवस्थापन गरिएको तथा बेलुकी चिकेन खानाको व्यवस्थापन गरिएको संयोजक धमलाले जानकारी दिए । महाधिवेशनमा सहभागी हुन आउने प्रतिनिधिहरुले एक हजार रुपैयाँ शुल्क तिरेपछि एउटा झोलासहित खानाको कुपन पाउने जानकारी दिए ।