सोसल मिडिया
Contact Us
युनिकोड
जनकपुर । सरस्वती पूजा आउन १५ दिन मात्र बाँकी रहेको बेला मूर्तिकारहरुलाई मूर्ति बनाउन भ्याईनभ्याई भएको छ । जनकपुरधामसहित धनुषामा धुमधामका साथ मनाइने सरस्वती पूजाको तयारी अहिलेदेखि नै सुरु भएको छ । माता सरस्वतीको मूर्ति बनाउन मूर्तिकारहरु दिन रात लागिपरेको देखिन्छन् । सिजनल काम भएकोले गर्दा वर्षभरि अरु काम गर्ने र चाडपर्व नजिक आउँदा मूर्ति निर्माणमा व्यस्त हुन्छन मूर्तिकारहरु । यसपाली भने मूर्तिकारहरुलाई असहजता भएको देखिएको छ । घाम नलागेका कारण माटो मुछ्नेदेखि लिएर मूर्ति सुकाउन समेत गाह्रो भएको बताउँछन् जनकपुरधामका मूर्तिकार उतीम लाल पण्डित । अत्याधिक चिसो बढेका कारण माटो मुछ्दा हात खुट्टा सुन्निने, काम गर्न अप्ठ्यारो हुने समस्या भइरहेको बताउँछन् उनी । विगतको वर्ष भन्दा बढी मूर्तिको बुकिङ्ग भएकाले यस वर्ष आम्दननीको साथै चुनौती पनि बढेको उनको भनाई छ । उनले घाम नलागेकाले मूर्तिलाई आकार दिएपछि सुक्न नसकेको दुखेसो पोखे । माटो नसुकुन्जेल पेन्ट गर्न नमिल्ने उनले बताए । १५ दिन बाँकी रहँदा नै ४० वटा मूर्तिको अर्डर आएकाले उनले वैकल्पिक तरिका अपनाउने बताए । तातो हावा फ्याल्ने र माटो सुकाउने उपकरण मगाएर मूर्तिलाई सुकाउनुपर्ने देखिएको उनको भनाई छ । तर यस्तो गर्दा थोरै पैसा बच्ने उनी भन्छन् । मूर्तिकारहरुले एक सिजनमा घर खर्चा चलाउने जति कमाउन सक्ने बताउँछन् मूर्तिकार पणिडत । आम्दानी राम्रै भएपनि सिजनल मात्र भएकाले अन्य समयमा अरु काम पनि गर्ने गरेको उनको भनाइ छ । एउटा मूर्तिमा २० प्रतिशत प्रयोग हुने सामानहरुको र बाँकी मेहनत मजदुरी अनुसार तीन दिनदेखि पाँच दिनसम्म लाग्ने र सोही अनुसारको आम्दनी हुने गरेको उनले जानकारी दिए । पहिला सानो मूर्तिहरु बढि विक्री हुने गरेकोमा अहिले नयाँ डिजाइन र ठूलो आकारको मूर्तिहरु बढि विक्री हुने गरेको उनको भनाई छ ।