सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको वर्तमान राजनीतिक अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् । मंगलबार बसेको सचिवालय बैठकमा बोल्दै अध्यक्ष ओलीले तत्काल निर्वाचन हुने वातावरण अझै नबनिसकेको धारणा पनि राखे । उनका अनुसार एमाले र कांग्रेस नजिकिँदै गएपछि सरकार तथा केही विदेशी शक्तिहरूले निर्वाचनलाई सार्ने वा विभिन्न चरणमा विभाजन गरेर गराउने षड्यन्त्र गरिरहेको अवस्था देखिएको छ । यस प्रक्रियामा सर्वोच्च अदालतका न्यायाधीशहरूमाथि निरन्तर दबाब र धम्की दिइँदै संसद् पुनःस्थापना हुन नदिने प्रयास भइरहेको उल्लेख गर्दै उनले यसले लोकतान्त्रिक मूल्य–मान्यतामाथि गम्भीर प्रश्न उठाएको बताए । अध्यक्ष ओलीले नेपालको अस्तित्व र राष्ट्रिय अखण्डता जोगाउने कार्य थप चुनौतीपूर्ण बन्दै गएको र वैदेशिक हस्तक्षेप नाङ्गो रूपमा देखिन थालेको दाबी गरे । यस्तो परिस्थितिमा पार्टीले आन्दोलनलाई जुझारु र सशक्त ढंगले अघि बढाउनुपर्नेमा जोड दिँदै उनले प्रत्येक तहमा युवाहरूको सक्रिय परिचालन आवश्यक रहेको बताए । टोल–टोलमा ‘नेसनल युथ भोलिन्टियर्स फोर्स’ गठन गर्दै निर्वाचनको तयारी आन्दोलनकै मैदानबाट सुरु गर्नुपर्ने उनको स्पष्ट धारणा रहेको थियो । अध्यक्ष ओलीले कतिपय व्यक्तिहरू नियतवश विनाशकारी भूमिकामा उत्रिएको तथा केही स्वार्थ बोकेर ठगी, भ्रष्टाचार र वैदेशिक शक्तिको दलालीमा संलग्न भएको आरोप समेत लगाए । विकासको नाममा विदेशी एजेन्डा बोकेर राष्ट्रवादी शक्तिलाई बदनाम गर्ने षड्यन्त्र भइरहेको भन्दै उनले दाग लागेका र अक्षम व्यक्तिहरूलाई योजनाबद्ध रूपमा एकत्रित गरिएको टिप्पणी गरे । तर नेपाली जनताको देशभक्ति र राष्ट्रियताको भावना बलियो भएकै कारण बंगलादेशमा भदौ २३ र २४ गते भएका घटनालाई नेपालमा ‘महान उपलब्धि’ भनेर दाबी गर्ने साहस उनीहरूले गर्न नसकेको ओलीको भनाइ थियो । अन्ततः देश ध्वस्त बनाउने कामको जिम्मेवारी उनीहरूले नै लिनुपर्ने अवस्था आएको उनले उल्लेख गरे ।