कांग्रेस कार्य सम्पादन बैठक

कांग्रेसले राष्ट्रिय सभामा गठबन्धन गर्ने

सोमबार, पुस २१, २०८२

काठमाडौं । नेपाली कांग्रेस आसन्न राष्ट्रिय सभा र प्रतिनिधि सभा निर्वाचनमा केन्द्रीत भएको छ । सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठक महाधिवेशन भन्दापनि निर्वाचनमा केन्द्रीत भएर नेताहरुले आफ्नो धारणा राखे ।
सो क्रममा राष्ट्रियसभाको निर्वाचनमा अन्य दलसँग गठबन्धन गर्ने निर्णय पनि गरेको छ । माघ ११ गतेका लागि तय भएको राष्ट्रियसभा सदस्य निर्वाचनका लागि कांग्रेसले संविधान निर्माणमा संलग्न दलसँग गठबन्धन गर्ने निर्णय गरेको हो । नेता वीरबहादुर बलायरले बैठकले गठबन्धन गर्ने निर्णय गरेको र सीट संख्याबारे नेताहरू बसेर सहमति जुटाउने बताए । त्यस्तै कांग्रेस प्रवक्ता डा.प्रकाशशरण महतले सोमबार साँझसम्म सबै दलसँग कुरा मिल्ने बताए । भोलि मंगलबार उम्मेदवारको टुंगो लगाइने उनले बताए । त्यसअघि कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आसन्न राष्ट्रिय सभा निर्वाचनमा नेकपा एमालेसहितसँग तालमेल गरेर जाने विषयमा भएको छलफलबारे पार्टी कार्यसम्पादन समितिमा ब्रिफिङ गरेका थिए । बैठकमा विशेष महाधिवेशनको विषयले चर्चा पाएन । तथापी, विशेष महाधिवेशन अभियन्ताका तर्फबाट नेता देवराज चालिसेले पुनः नेतृत्वको ध्यानाकर्षण गराएका थिए । चालिसेले विशेष महाधिवेशनका पक्षमा ५४.५८ प्रतिशत सदस्यले हस्ताक्षर गरेका, विधिसम्मत रूपमा उक्त प्रस्ताव दर्ता रहेकाले निस्क्रिय नहुने दावी गरे ।

प्रकाशित मिति: सोमबार, पुस २१, २०८२  १८:१९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार