सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । निर्वाचनको औपचारिक तयारी तीव्र बन्दै गएको समयमा निर्वाचन आयोग परिसरभित्रै युवाहरूको विरोध प्रदर्शनले लोकतान्त्रिक प्रक्रियामाथि गम्भीर प्रश्न उठाएको छ । सोमबार साँझ आफूलाई जेनजी समूहको रूपमा चिनाउने केही युवाहरूले आयोगको सुरक्षा घेरा तोड्दै प्रवेश गरी चुनाव रोक्न माग गर्दै नाराबाजी गरेका थिए । राजनीतिक दलहरू समानुपातिक उम्मेदवारहरूको बन्द सूची बुझाइरहेका बेला भएको प्रदर्शनले युवा पुस्ताको गहिरिँदो असन्तुष्टि उजागर गरेको हो । प्रदर्शनकारीहरूले जेनजी आन्दोलनका क्रममा भएका दमन र हत्याका घटनामा दोषीमाथि कारबाही नभएसम्म चुनाव स्वीकार्य नहुने दाबी गर्दै आएका छन् । उनीहरूले बन्द कोठाभित्र राजनीतिक सहमति गरेर चुनावमा जाने निर्णयलाई आन्दोलनमाथिको धोका भएको बताएका छन् । राजनीतिक दलहरू समानुपातिक प्रणालीतर्फका उम्मेदवारहरूको बन्द सूची बुझाउन व्यस्त रहेका बेला आयोगभित्र पुगेका युवाहरूले ‘चुनाव धोका हो’, ‘निर्वाचन प्रक्रिया बन्द गर’ र ‘हत्यारालाई कारबाही गर’ जस्ता नारा लगाएका थिए । प्रदर्शनकारीहरूले ‘जेन–जीका माग पूरा गर’, ‘नालायक सरकार मुर्दावाद’ र ‘सुशिला कार्की राजीनामा दे’ जस्ता नारा लगाउँदै अन्तरिम सरकारविरुद्ध आक्रोश व्यक्त गरेका थिए । प्रदर्शनमा सहभागी एक युवाले रवि लामिछाने र बालेन साहबीच भएको भनिएको सहमति प्रति असन्तुष्टि व्यक्त गर्दै बन्द कोठाभित्र सहमति गरेर चुनावमा जाने निर्णयलाई आन्दोलनमाथिको धोका भएको बताए । ‘बन्द कोठाभित्र स्टाटस लेखेर युवाहरूको साथ हामीसँग छ भन्ने ? आज तिमीहरू नयाँ गठबन्धनका नाममा चुनावमा जाने कुरा गरिरहेका छौ, यो आन्दोलनमाथिको धोका हो । हामी खबरदार भन्न चाहन्छौं,’ उनले भने । निर्वाचन आयोगले फागुन २१ गतेका लागि तय भएको निर्वाचनका लागि राजनीतिक दलहरूलाई समानुपातिकतर्फको बन्द सूची बुझाउन सोमबारसम्मको समयसीमा तोकेको थियो ।