जेनजी आन्दोलनपछि स्थगित हाँडीगाउँको ‘कार फ्रि डे’ पुनः संचालनमा, व्यापारीहरु उत्साहित

हाँडीगाउँको ‘कार फ्रि डे’ मेला : कमाउने र रमाउने माध्यम
शनिबार, पुस १२, २०८२

काठमाडौं । काठमाडौं महानगरपालिका वडा–५ हाँडीगाउँमा सवारीसाधनलाई प्रवेश निषेध गरेर प्रत्येक शनिबार गरिने सडक मेला पुनः सञ्चालनमा ल्याइएको छ । काठमाडौं महानगरपालिकाले यूएसएआईडीको स्वच्छ हावा परियोजनासँगको सहकार्यमा ‘हावाको कुरा गरौँ’ अभियान थालेको हो । जसमा महानगरको सम्पदा तथा पर्यटन विभाग र काठमाडौं महानगरपालिका वडा–५ को सहकार्य रहेको थियो । शनिबार दिउँसो २ बजेपछि सडकमा सवारी चलाउन नपाइने व्यवस्थागरी हरेक शनिबार कार फ्रि डे मनाउने गरिएकोमा केही महिनादेखि बन्द भएको थियो । मेला नरःदेय् जीवन्त हाँडीगाउँ समिति वडा नं–५ ले आज शनिबारदेखि पुनः सञ्चालनमा ल्याइएको हो । समितिका अध्यक्ष गोपाल डंगोलले विगत साढे दुई वर्षदेखि प्रत्येक शनिबार दिउँसो २ बजेदेखि ८ बजेसम्म निरन्तर रुपमा सञ्चालन गर्दै आएको मेला जेनजी आन्दोलनपछि शान्ति सुरक्षाको व्यवस्था राम्रो नहुँदा बन्द गर्नुपरेको बताए । उनले भने,‘हामीले विगत साढे दुई वर्षदेखि यो कार्यक्रम निरन्तर रुपमा गर्दै आइरहेका थियौं । प्रत्येक शनिबार दिउँसो २ बजेदेखि ८ बजेसम्म निरन्तर रुपमा गर्दै आएका थियौं । तर आन्दोलनपछि शान्ति सुरक्षापनि राम्रो नभएका कारण बन्द गरेका थियौं । आजदेखि फेरि सञ्चालनमा ल्याएका हौं ।’ उनको अनुसार धुँवाधुलोको कारण वातावरण प्रदूषण भइरहेको अवस्थालाई मध्यनजर गर्दै हप्तामा एक दिन मात्रै भएपनि सवारी बन्द गरेर वायु प्रदूषणमा केही सुधार गर्ने उद्देश्यले यो मेलाको आयोजना गरिएको हो । उनले भने,‘धुँवाधुलोको कारण वातावरण प्रदूषण भइरहेको थियो । त्यसलाई मध्यनजर गर्दै प्रत्येक हप्तामा एक दिन मात्रै भएपनि यो क्षेत्रमा सवारी बन्द गरेर वायु प्रदूषणमा केही सुधार होला कि भनेर झक्झक्याउने काम हामीले गर्यौं । गाडी बन्द हुँदा र नहुँदाको वातावरण परीक्षण गर्यौं । यस दिन वातावण स्वच्छ पायौं ।’ मेलामा विभिन्न परिकारहरू, सांस्कृतिक प्रदर्शनी, खेलकुद लगायतका कार्यक्रमहरू हुने गरेको अध्यक्ष डंगोल बताउँछन् । साथै सवारी प्रयोग नगर्दा सो ठाउँमा स्टलहरु राखेर नेपाली खानेकुराको प्रदर्शन साथै परम्परागत बाद्यबादन, गायन तथा नृत्य र मौलिक सामाजिक खेलसहितको सडक महोत्सव गर्ने गरिएको उनले जानकारी दिए । ‘सवारी प्रयोग नगर्दा स्टलहरु राखेर नेपारी खानेकुराको प्रदर्शन गर्ने, यसको साथै परम्परागत बाद्यबादन, गायन तथा नृत्य र मौलिक सामाजिक खेलसहितको सडक महोत्सव गर्ने गरिएको छ । नेवारी खानाहरु खुवाउने र भाईबहिनीहरुको कलापनि प्रदर्शन गर्ने जमर्को गरेका छौं ।’ जेनजी आन्दोलनभन्दा पहिले दिनमा २५ देखि ३० लाखसम्मको व्यापार हुने गरेको जानकारी दिँदै उनले अब सोही अनुरुपको व्यापार हुनेमा विश्वास व्यक्त गरे । ‘जेनजी आन्दोलनभन्दा यहाँ तरकारी पसलदेखि सुनपसल कपडापसलहरुमा पनि राम्रो व्यापार भएको छ । यहाँका बासिन्दालाई कमाउने र रमाउने ठाउँ दिएका छौं । दिनमा नै २५ देखि ३० लाखसम्मको व्यापार हुने गरेको थियो । आज सुरुको दिन थोरै स्टलहरु छन् तर विस्तारै पहिलाकै जस्तो व्यापार हुन्छ भन्नेमा विश्वस्त छौं ।’ दथु टोल कृष्ण मन्दिर, डबली चोकहुँदै कोटालटोल भवरकुँसम्म सडक खण्डमा हरेक शनिबार सवारी प्रवेशमा रोक लगाउने गरिएको उनले जानकारी दिए । मेलामा विभिन्न नारी समूहले पनि विभिन्न नेवारी परिकारका स्टल राखेर सहभागिता जनाएका छन् । परिवर्तित नारि समूहकी मीनालक्ष्मी प्रजापतिले मेला आयोजना गर्नाले हप्तामा एक दिन भएपनि नारीहरु घरको काममा सिमित हुनुपर्ने अवस्थाबाट बाहिर निस्कन पाएको भन्दै खुसी व्यक्त गरिन् । यसको साथै महिलाहरुलाई आर्थिक रुपमा पनि अब्बल बनाएको उनले सुनाइन् । उनले भनिन्,‘मेला आयोजना गर्नाले महिलाहरु घरको काममा सिमित हुनु परेको छैन् । आर्थिक रुपमा पनि अब्बल बनाएको छ । महिनामा चार दिन मात्र काम गरेर भएपनि पुगिरहेको छ । नेवारी समुदायमा महिलाहरुले पहिला धेरैजसो खेतबारीमा नै काम गर्नुपर्ने हुन्थ्यो, अहिले मेलाले थोरै व्यस्त गराएको छ ।’ त्यस्तै बाहिरको नेवारी रेष्टुरेन्टमा भन्दा आफूहरुले धेरै सस्तो मुल्यमा खानेकुरा दिएको बताइन् । बाहिर एउटा बाराको १५० देखि १८० सम्म लिने गरेकोमा आफूहरुले १२० मा नै खुवाउँने उनी बताउँछिन् । उनको अनुसार आजबाट नै लागू हुनेगरी प्रत्येक स्टलहरुलाई समितिले नै मूल्य निर्धारण गरिदिएको छ । त्यस्तै अर्की व्यापारी सिला महर्जनले शनिबार एकदिन भएपनि साथीहरुसँग भेटघाट पनि हुने व्यापार पनि गरिने हुँदा खुसी लागेको बताइन् । स्टलमा आउनेहरुले सस्तो र मिठो खानेकुरा खान पाइएको प्रतिक्रिया दिने गरेको उनले जानकारी दिइन् ।

प्रकाशित मिति: शनिबार, पुस १२, २०८२  २१:०५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार