काँग्रेसद्धारा बागी, विद्रोही उम्मेदवारमाथिको कारबाही फुकुवा, पार्टी छाडेकालाई फर्कन आह्वान 

शनिबार, पुस १२, २०८२

काठमाडौं । नेपाली कांग्रेसले विगतको निर्वाचनमा पार्टीको उम्मेदवार वा पार्टीले समर्थन गरेका उम्मेदवारका विरुद्ध उम्मेदवार भएका, तिनका प्रस्तावक र समर्थक वा असहयोग गरी निष्कासन, निलम्बन वा कारबाहीमा परेकाहरूलाई कारबाही फुकुवा गर्ने निर्णय गरेको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृतिमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले अनुशासन समितिको कारबाहीमा परेकाहरूको बाँकी अवधि माफी्मिनाहा गर्ने निर्णय गरिएको हो । पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै यसरी कारबाही माफी्मिनाहा भएका व्यक्तिहरूको क्रियाशील सदस्यतालाई निरन्तरता कायम गरी क्रियाशील सदस्यता नवीकरण गर्ने निर्णय भएको समेत जानकारी दिएका छन् । पार्टी परित्याग गरेकालाई घर फर्कन आह्वान समेत बैठकले आह्वान गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । ‘विगतमा विभिन्न कारणले पार्टी परित्याग गरेर स्वतन्त्र बनेका वा अन्य पार्टीमा गएर उम्मेदवार, प्रस्तावक वा प्रचारक बनेका साथीहरूलाई पार्टीमा फर्कनका लागि केन्द्रीय कार्यसम्पादन समितिको यो बैठक हार्दिक आह्वान गर्दछ’, विज्ञप्तिमा भनिएको छ, ‘त्यसरी फर्किने साथीहरूलाई क्रियाशील सदस्यता सहित आवश्यक जिम्मेवारी प्रदान गर्ने निर्णय यो बैठक गर्दछ ।’ बैठकले समानुपातिक तर्फका ११० उम्मेदवार चयनको मापदण्ड तयार गरेर नाम चयन प्रक्रिया प्रारम्भ गरेको छ । कार्य सम्पादन समितिको बैठक भोलि बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्नेछ ।

प्रकाशित मिति: शनिबार, पुस १२, २०८२  २०:२६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार