सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रदेशस्तरीय विरोध सभा आजदेखि सुरु गरेको छ । संविधान संशोधन, निर्वाचन क्षेत्र पुनर्निर्धारण, जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीलगायत २८ बुँदे माग र राष्ट्रिय मुद्दा उठाउँदै आएको जसपा नेपालले प्रदेश–प्रदेशमा विरोध सभा आयोजना गर्न लागेको हो । पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार प्रदेशस्तरीय विरोध सभाअन्तर्गत आज कोशी प्रदेशको विराटनगरमा पहिलो विरोध सभा आयोजना गरिएको छ । कार्यक्रम तालिका अनुसार पुस १४ गते मधेस प्रदेशको जनकपुर, पुस १५ गते वीरगञ्ज र पुस १७ गते लुम्बिनी प्रदेशको भैरहवामा विरोध सभा आयोजना गरिनेछ। विरोध सभालाई पार्टी अध्यक्ष उपेन्द्र यादवसहित शीर्ष नेताहरूले सम्बोधन गर्ने जनाइएको छ । यसअघि जसपा नेपालले सातै प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम र पार्टीका प्रदेश समितिहरूको अधिवेशन सम्पन्न गरिसकेको बस्नेतले जानकारी दिए । सङ्घर्षका कार्यक्रमअन्तर्गत पार्टीले संसदीय निर्वाचन क्षेत्रका विभिन्न सहर–बजारमा विरोध प्रदर्शन, कोण सभा, जिल्ला सदरमुकामका जिल्ला प्रशासन कार्यालय अगाडि शान्तिपूर्ण धर्ना तथा जिल्लास्तरीय विरोध सभा र जनसभा गर्दै आएको छ । ती कार्यक्रमहरूमा पार्टीका माग र मुद्दा उल्लेखित प्लेकार्ड तथा ब्यानर प्रयोग गरिएको थियो ।