महाधिवेशनमार्फत नै पार्टीमा नयाँ दृष्टिकोण र विश्वास बढ्छ : विश्वप्रकाश शर्मा

बिहीबार, पुस १०, २०८२

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको केन्द्रीय महाधिवेशन नै वर्तमान अवस्थाको उत्तम विकल्प भएको बताएका छन् । आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै महामन्त्री शर्माले वडादेखि केन्द्रसम्मको अधिवेशन प्रक्रिया अघि बढाउने प्रस्ताव गरिएको जानकारी दिए । उनले भने , ‘पहिले वडास्तरको अधिवेशन गर्ने, त्यसपछि क्षेत्रीय प्रतिनिधिहरूको सहभागितामा १६५ वटा क्षेत्रीय अधिवेशन सम्पन्न गर्ने र त्यसबाट चयन भएका महाधिवेशन प्रतिनिधिहरूमार्फत केन्द्रीय महाधिवेशन गर्ने प्रस्ताव पार्टीभित्र छलफलमा छ ।’ महामन्त्री शर्माले महाधिवेशनमार्फत पार्टीमा नयाँ दृष्टिकोण र नयाँ नेतृत्व आउने विश्वास व्यक्त गरे । उनले महाधिवेशन सम्पन्न भए कांग्रेसप्रति जनविश्वास थप बलियो हुने बताए । ‘वडाको अधिवेशन गरौं, त्यसपछि क्षेत्रीय अधिवेशन र अन्त्यमा केन्द्रीय महाधिवेशन गरौं भन्ने प्रस्ताव हामीले राखेका छौं,’ उनले भने, ‘त्यो प्रस्ताव अहिलेको लागि उत्तम विकल्प हो । प्रश्न महाधिवेशनबाट को आउँछ भन्ने मात्रै होइन, प्रश्न महाधिवेशनबाट देशलाई कांग्रेसले के सन्देश दिन्छ भन्ने पनि हो ।’

प्रकाशित मिति: बिहीबार, पुस १०, २०८२  २०:१८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार