सोसल मिडिया
Contact Us
युनिकोड
हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुरले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा प्रत्यक्षतर्फ पूर्व सांसद दीपक बहादुर सिंहको उम्मेदवारी औपचारिक रूपमा पक्का गरेको छ। पार्टीको केन्द्रीय निर्णय तथा जिल्ला कार्यसमितिको सिफारिसअनुसार प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत प्रत्यक्ष र समानुपातिक दुवै तर्फका उम्मेदवारहरूको नामावली सिफारिस गरिएको राप्रपाले जनाएको छ। यसपटक गत निर्वाचनभन्दा अझ सबल, सक्षम र जनअपेक्षाअनुसारका उम्मेदवारहरू मैदानमा उतारिएको पार्टीको दाबी छ । पार्टीद्वारा जारी प्रेस विज्ञप्तिअनुसार प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा प्रत्यक्षतर्फ दीपक बहादुर सिंहलाई उम्मेदवार बनाइएको छ भने समानुपातिकतर्फ विभिन्न समूहअन्तर्गत उम्मेदवारहरूको नाम सिफारिस गरिएको छ । उम्मेदवारी घोषणापछि प्रतिक्रिया दिँदै पूर्व सांसद सिंहले यसपटक निर्वाचनमा बहुमत हासिल गर्ने दाबी गरेका छन् । उनले भने, ‘मकवानपुरका जनताले विगतमा दिएको माया, विश्वास र समर्थनको कदर गर्दै यसपटक जसरी भए पनि बहुमत ल्याएर विजय हासिल गर्ने प्रतिबद्धता व्यक्त गर्दछु। जनताको हक, अधिकार र पहिचानका लागि सदनदेखि सडकसम्म संघर्ष जारी रहनेछ ।’ उनले मुलुकमा व्याप्त राजनीतिक अस्थिरता, भ्रष्टाचार र कुशासन अन्त्यका लागि राप्रपाको वैकल्पिक शक्ति आवश्यक रहेको उल्लेख गर्दै क्षेत्र नम्बर १ का जनताले आफूलाई पुनः अवसर दिने विश्वास व्यक्त गरे। राप्रपा मकवानपुरले आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै संगठन सुदृढीकरण, जनसम्पर्क विस्तार तथा निर्वाचन तयारीलाई तीव्र बनाएको जनाएको छ। पार्टी नेतृत्वका अनुसार जनताको चाहना र भावनालाई प्रतिनिधित्व गर्ने उम्मेदवारहरूलाई अघि सारेर निर्वाचनमा सशक्त उपस्थिति जनाइनेछ।