फागुन २१ को निर्वाचनबारे सिंहदरबारमा सर्वपक्षीय छलफल 

राजनीतिक दल देशको लागि सर्वेसर्वा होइनन्, जनता हुन : प्रधानमन्त्री
सोमबार, पुस ७, २०८२

काठमाडौँ । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ को निर्वाचनलाई लिएर सोमबार सर्वपक्षीय बैठक डोकेकी छन् । बैठकमा सम्बोधन गर्दै उनले आफूहरू सबैतिरको आलोचना खेप्ने अचानो नभएको बताएकी छन् ।  उनले अन्तरिम सरकारमाथि अहिले जेनजी, राजनीतिक दलहरू सबैले प्रहार गरिरहेको बताइन् । विगतमा भएका गल्ती र कमजोरीको आवेगमा गत भदौ २३ र २४ गतेको घटना भएको र त्यसको आवेग आफूहरूले सहिरहेको बताइन् । मुलुकको निम्ति अहिले आइरहेका आक्षेपहरू खेप्न आफूहरू तयार रहेको बताइन् । उनले राजनीतिक दल देशको लागि सर्वेसर्वा नभई सबैभन्दा पहिला जनता हुने बताइन् ।
राजनीतिक दलहरू जनताको सेवा गर्न बसेको उनको भनाइ छ । जनताले खोजेको परिवर्तनका लागि राजनीतिक दलहरू पनि सच्चिन जरुरी रहेको बताइन् । उनले भनिन्,‘यो देशको सर्वेसर्वा भनेको जनता जनार्दन हो । हामीले कुनै पनि राजनीतिक दलभित्र आफ्नो भागबण्डा मिलेन, आफूबीचमा मन मिलेन भने त्यसको नकारात्मक असर र प्रताडना जनतालाई दिनु हुँदैन । जनताको एउटा च्वाइसको कुरा हो । यहाँ सबैभन्दा ठूलो महान् भनेको जनता हो । राजनीतिक दलहरू भनेको दोस्रो कुरा हो । राजनीतिक दलहरू जनताको सेवा गर्न बसेको हो । जनता के चाहन्छन् ? अहिलेको भावना के हो ? भदौ २३ र २४ मा जुन किसिमको मुभमेण्ट भयो, हत्या र हिंसा भयो । नाबालकहरू मारिए । त्यसले जनतामा प्रभाव परेको छ । जेनजीले के खोजेको, युवापुस्ताले के खोजेको ? हामीले त विचार गर्नुपर्‍यो । मेरो गोरुको बाह्रै टक्का भनेर न हामी सफल हुन सक्छौँ, न सफलताको मार्ग हो । जनताले परिवर्तन खोजेको छ भने पोल्टिकल पार्टीले पनि सच्चिनुपर्छ । मैले त के देखिरहेको छु भने, मैले भन्न नहुने हो, हामी त अचानो होइनौँ नि । हिजो जे त्रुटि भए, जे गल्ती भए, जेको परिणामबाट २३ र २४ भयो, त्यो आवेगलाई हामी झेलिरहेका छौँ । आज हामी आलोचनाको पात्र जेनजीबाट पनि भएका छौँ, राजनीतिक दलबाट पनि भएका छौँ । हामी अचानो त होइनौँ । हामीले जे सहनुपरिरहेको छ, जे भोग्नुपरिरहेको छ, जुन किसिमको आक्षेपहरू खपिरहेका छौँ, त्यो तयार छौँ, किनभने मुलुकको निम्ति ।’ प्रधानमन्त्री कार्कीले आफूहरू जेनजीका रगतमा ऐस आराम गर्न नआएको बताइन् ।विगतमा राजनीतिक दलहरूले मस्ती गरेको तर आफूहरूले केही ऐस आराम नगरेको उनको भनाइ छ । उनले सबै राजनीतिक दलहरू एकताबद्ध भएर शान्ति चाहने हो भने कुनै माइकलालले केही गर्न नसक्ने जिकिर गरिन् ।  यसैबीच निर्वाचन समयमै हुनेमा नागरिक अगुवाहरुले आशंक व्यक्त गरेका छन् ।  सिंहदरबारमा आयोजित पक्षीय वार्तामा धारणा राख्दै नागरिक अगुवाहरुले यस्तो आशंक व्यक्त गरेका हुन् ।  नागरिक अगुवा सूर्यप्रसाद श्रेष्ठले आन्दोलनले नयाँ सरकार बनाएको र सरकारको आफ्नो उत्तरदायित्व भएको बताए । सरकारलाई बाहिरि हस्तक्षेप भएको खण्डमा र सरकारले निर्वाचन आयोगमा हस्तक्षेप गरेको खण्डमा देशले समयमा निकास नपाउने बताए । सरकारले तोकेको अवधिभित्र निर्वाचन सम्भव नहुने उनले बताए । सरकारको काम राजनीतिक परिचालन, समन्वय, सबैलाई सहभागी गराउने र सन्त्रासको वातावरणबाट उन्मुक्ति दिने हुनुपर्ने बताए ।  नागरिक अगुवा माधवप्रसाद पौडेलले निर्धारित अवधिभित्रै विदेशमा रहेका नेपालीको मतदाता नामावली संकलन गरेको खण्डमा पनि मतदान केन्द्र कहाँ राख्ने भन्ने दुविधा रहेको बताए। मतदान केन्द्र राजदूतावासमा राख्ने वा त्यस भन्दा बाहिर राख्ने भन्ने प्रश्न रहेको बताए। अन्तर प्रदेश मतदानका लागि सुरक्षा चुनौति रहेको उनको धारणा थियो ।  एक सय ६५ स्थानमै निर्धारित अवधिभित्र निर्वाचन सम्भव नरहेको उनको भनाइ छ । पूर्वमन्त्रीसमेत रहेका पौडेलले अन्तरिम सरकारले गरेको निर्वाचन सर्वस्वीकार्य हुन नसके त्यसको परिणाम राम्रो नहुने बताउ। सम्भव नभएका कामहरु अघि सार्नेकुराले स्टन्टबाजी मात्रै हुने र समयमै निर्वाचन गर्नतिर सरकार लागेको छ भन्नेकुरामा नै प्रश्न उठ्ने बताए ।  नागरिक अगुवा कनकमणि दिक्षितले अन्तर्राष्ट्रिय मान्यताअनुसार निर्वाचन घोषणा भइसकेपछि विधि र प्रविधिलाई फेरबदल गर्नु उचित नभएको बताए ।  नागरिक अगुवा राधेश्याम अधिकारीले निर्वाचनको प्रक्रिया शुरु गरिसकेपछि कानूनहरु परिवर्तन गर्न नहुने बताए । यसलाई खेलाँची गरे ठिक ठाउँमा नपुर्‍याउने उनको धारणा थियो । विदेशमा बस्ने नेपालीहरुको मतदानको कुरा संवेदनशील रहेको बताए ।  शीर्ष नेतृत्वलाई स्थानहद तोकेर निर्वाचन गर्न सम्भव नरहेकाले नेताहरुको स्थानहद हटाउनुपर्ने उनले बताए ।

प्रकाशित मिति: सोमबार, पुस ७, २०८२  १९:०२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार