सिद्धान्तहीन गठबन्धन गर्नेहरुकै कारण देशमा भ्रष्टाचार बढ्यो : प्रेम सुवाल

सोमबार, पुस ७, २०८२

काठमाडौं । नेपाल मज्दुर किसान पार्टीका नेता प्रेम सुवालले चुनाव जित्न र सरकारमा पुग्न सिद्धान्तहीन गठबन्धन गर्नेहरुकै कारण देशमा भ्रष्टाचार बढेको बताएका छन् । सोमबार भएको सर्वदलीय बैठकमा उनले सिद्धान्तहीन गठबन्धनले देशमा भ्रष्टाचार बढेको भन्दै पद नपाएसम्म इमानको कुरा गर्ने पाएपछि बेइमान गर्ने राजनीतिले जनतालाई धोका भएको बताए । उनले भने, ‘चुनाव जित्न र सरकारमा पुग्न सिद्धान्तहीन गठबन्धन गर्नेहरुकै कारण देशमा भ्रष्टाचार बढेको हो । पद नपाएसम्म इमानको कुरा गर्ने पाएपछि बेइमान गर्ने राजनीतिले देश र जनतालाई धोका भएको हो ।’ यस्तै, उनले धेरै पटक प्रधानमन्त्री र मन्त्री हँदैमा त्यो जनताको नहुने रहेछ भन्ने कुरा देखा परेको भन्दै यस विषयतर्फ सबै सचेत हुन आवश्यक रहेको बताए । उनले भने, ‘धेरै पटक प्रधानमन्त्री र मन्त्री हुँदैमा त्यो जनताको नहुने रहेछ भन्ने कुरा पनि देखा परेको छ । जस्तै राणा शासन त्यति लामो हुुँदा पनि जनताले रुचाएन नि । यसतर्फ सबै सचेत हुन आवश्यक छ । दलको नाम मात्र फरक छ तर सरकारमा गएर गर्ने काम एउटै छ । केही फरक छैन् ।’ भदौ २३ र २४ को घटनाले सरकारहरुले समयमा देश र जनताको समस्या समाधान गर्न नसकेको कुरा देखिएको भन्दै राजनीतिक दलको उद्देश्य देश र जनताको निःस्वार्थ सेवा हो र यो कुरा दलको विधानमा उल्लेख हुनुपर्ने पनि उनको भनाई छ ।

प्रकाशित मिति: सोमबार, पुस ७, २०८२  १८:४३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार