सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पद तथा गोपनियताको सपथ लिएका छन् । बिहीबार सम्पन्न एमालेको ११औँ राष्ट्रिय महाधिवेशनबाट दोस्रो पटक महासचिवमा निर्वाचित भएपछि उनले सपथ लिएका हुन् । सपथ ग्रहण समारोहमा बोल्दै महासचिव पोखरेलले एमालेको ११औँ राष्ट्रिय महाधिवेशन भव्य र ऐतिहासिक रूपमा सम्पन्न भएको बताए । लाखौँ जनताको सहभागितासहित अत्यन्त उत्साहपूर्ण वातावरणमा महाधिवेशन सम्पन्न गर्न सफल भएको उनको भनाइ थियो । काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको बन्दसत्र आज विधिवत् रूपमा समापन गरिएको उनले जानकारी दिए । महासचिव पोखरेलले पार्टीको संगठनात्मक परम्पराबारे उल्लेख गर्दै दशौँ राष्ट्रिय महाधिवेशनदेखि नीति र विधि निर्माणका लागि विधान महाधिवेशन र नेतृत्व चयनका लागि राष्ट्रिय महाधिवेशन गर्ने अभ्यास सुरु गरिएको स्मरण गराए । उनले भने, ‘एमालेको ११ औँ महाधिवेशन हामीले भव्यताका साथ सम्पन्न गरेका छौं । लाखौं लाख जनताको सहभागितामा अत्यन्त उत्साहपूर्ण वातावरणमा ऐतिहासिक रुपमा सम्पन्न गर्न सफल भयौं । ११ औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र हामीले काठमाडौंको यही भृकृटिमण्डपमा आरम्भ गरेर आज विधिवत रुपमा समापन गरेका छौं । हामीले हाम्रो पार्टीको परम्परामा दशौं राष्ट्रिय महाधिवेशनको समयदेखि नीति र विधि निर्माण गर्नका लागि विधान महाधिवेशन नेतृत्व निर्वाचित गर्नका लागि राष्ट्रिय महाधिवेशनको परम्परा आरम्भ गरेका थियौं।’ उनले पछिल्लो समय देशमा देखिएका घटनाप्रति पनि ध्यानाकर्षण गराए । गत भदौ २३ र २४ गते संविधान, लोकतन्त्र र राष्ट्रिय अस्मितामाथि नकारात्मक प्रभाव पार्ने खालका घटनाहरू भएको उल्लेख गर्दै उनले केही भ्रष्टाचारविरोधी, लोकतन्त्रविरोधी र गणतन्त्रविरोधी तत्वहरूले युवाहरूको भावना दुरुपयोग गरी मुलुकलाई हिंसात्मक बाटोतर्फ धकेल्ने प्रयास गरेको आरोप लगाए । उनले भने, ‘गत भदौ २३ र २४ गते नेपालमा नेपालको संविधान, लोकतन्त्र राष्ट्रको अस्मिता माथि नै नकारात्मक प्रभाव पार्ने घटनाहरु घट्न पुगे । हाम्रा नवयुवाहरुको भावनामा खेलेर भ्रष्टविरोधी तत्वहरु, लोकतन्त्र विरोधी तत्वहरु, गणतन्त्र विरोधी तत्वहरुले मुलुकलाई हिंसात्मक बाटोतर्फ अग्रसर बनाउने काम गरे ।’