पूराना अनुहारले कांग्रेस संकटमा, नयाँ नेतृत्व अपरिहार्य : उमेश श्रेष्ठ

'कृषि क्षेत्रमा ठूलो सम्भावना देखेर नै यसप्रति सक्रिय छु'
बिहीबार, पुस ३, २०८२

विराटनगर । नेपाली कांग्रेसका कोषाध्यक्ष, शिक्षासेवी र व्यवसायी उमेश श्रेष्ठले कांग्रेसभित्र अब पूरानो शैली र अनुहारभन्दा नयाँ, पढेलेखेका, उद्यमशील र विषयविज्ञ युवालाई नेतृत्वमा ल्याउनुपर्ने आवश्यकता औंल्याएका छन् ।नेपाल न्यूज बैंकसँगको विशेष संवादमा उनले देशको वर्तमान राजनीतिक, आर्थिक र सामाजिक अवस्थाबारे स्पष्ट धारणा राखे । उनले पछिल्लो समय देखिएको जेन–जी आन्दोलनलाई युवाहरूको निराशा र परिवर्तनको चाहनासँग जोड्दै यसको मूल कारण रोजगारीको अभाव र नीतिगत कमजोरी भएको बताए । श्रेष्ठका अनुसार देशको समग्र रूपान्तरणको आधार शिक्षा हो । हालको शिक्षा प्रणाली रोजगारमुखी नभएकाले युवाहरू विदेशिन बाध्य भएका छन् । त्यसैले विद्यालय तहदेखि नै सीपमूलक र व्यवहारिक शिक्षा आवश्यक रहेको उनको जोड छ । सरकारले व्यवसाय गर्ने होइन, निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीति बनाउनुपर्ने भन्दै उनले उद्योगी–व्यवसायीलाई हेर्ने नकारात्मक दृष्टिकोण बदल्नुपर्ने बताए । उनले पार्टीभित्र स्वस्थ प्रतिस्पर्धा र सहकार्य दुवै जरुरी भएको उल्लेख गर्दै उनले गुट–उपगुटभन्दा माथि उठेर निर्णय लिनुपर्ने बताए । श्रेष्ठले पछिल्लो समय कृषिमा ठूलो सम्भावना देखेर सक्रिय भएको बताए । नेपालले वार्षिक चार खर्बभन्दा बढीको कृषिजन्य वस्तु आयात गरिरहेको अवस्थालाई चिन्ताजनक ठहर गर्दै उनले आधुनिक, व्यावसायिक र प्रविधिमैत्री कृषिमा जानु आवश्यक रहेको बताए । हाइब्रिड बाली, जोन अवधारणा र निर्यातमुखी उत्पादनमा जोड दिनुपर्ने उनको सुझाव छ । कृषिमा थप मूल्य सिर्जना गर्न कोल्ड स्टोरेज अत्यावश्यक रहेको भन्दै उनले चितवनमा अत्याधुनिक मल्टी–चेम्बर कोल्ड सेन्टर निर्माण भइरहेको जानकारी दिए । काठमाडौं, भैरहवा, इटहरीलगायत स्थानमा पनि यस्ता परियोजना विस्तार गर्ने योजना रहेको उनको भनाइ छ । श्रेष्ठले राजनीतिलाई पद र चुनावभन्दा पनि नीतिगत सुधार र संस्थागत मजबुतीको माध्यमका रूपमा हेर्ने दृष्टिकोण प्रस्तुत गरेका छन् । शिक्षा, उद्यमशीलता र कृषि नै नेपाल समृद्धिको मुख्य आधार भएको उनको निष्कर्ष छ ।

प्रकाशित मिति: बिहीबार, पुस ३, २०८२  ११:५६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार