शिक्षकलाई केन्द्रमा राखेर निर्वाचन आयोगले जारी गर्‍यो नयाँ स्रोत पुस्तिका

बिहीबार, पुस ३, २०८२

काठमाडौं । स्वतन्त्र, निष्पक्ष र सचेत मतदान सुनिश्चित गर्न निर्वाचन आयोगले सामाजिक अध्ययन शिक्षकलाई लक्षित गर्दै नयाँ निर्वाचन शिक्षा स्रोत पुस्तिका सार्वजनिक गरेको छ । ‘निर्वाचन शिक्षा तथा सूचनाको विस्तार स्वतन्त्र र निष्पक्ष निर्वाचनको पूर्वाधार’ नारासहित तयार गरिएको निर्वाचन शिक्षा स्रोत पुस्तिका, २०८२ आयोगले आफ्नो वेबसाइटमार्फत सार्वजनिक गरेको हो । नागरिकमा लोकतान्त्रिक चेतना अभिवृद्धि गर्ने उद्देश्यले तयार पारिएको उक्त पुस्तिकामा शिक्षकको भूमिका विशेष रूपमा समेटिएको छ । पुस्तिकाले विद्यालय तहबाटै लोकतन्त्र, संविधान, निर्वाचन प्रणाली र नागरिक कर्तव्यबारे विद्यार्थीलाई व्यवस्थित रूपमा बुझाउने आधार तयार गर्ने आयोगको विश्वास छ । सात परिच्छेदमा विभाजित स्रोत सामग्रीमा लोकतन्त्र र संविधानदेखि निर्वाचन चक्र, मतगणना, नोटा (नो भोट), निर्वाचन आचारसंहिता, कानुनी व्यवस्था तथा निर्वाचन प्रक्रियामा सरोकारवालाको भूमिकासम्मका विषय समेटिएका छन् । विशेषगरी अन्तिम परिच्छेदमा शिक्षकले निर्वाचन शिक्षा र सूचना प्रवाहमा खेल्ने भूमिकालाई स्पष्ट गर्दै विद्यार्थीलाई निर्वाचन शिक्षा तथा सूचना केन्द्रको भ्रमणमार्फत व्यवहारिक ज्ञान दिन सकिने व्यवस्था उल्लेख गरिएको छ । आयोगका अनुसार यस स्रोत पुस्तिकाले दीर्घकालीन रूपमा सचेत मतदाता उत्पादन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: बिहीबार, पुस ३, २०८२  ०८:५८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार