सोसल मिडिया
Contact Us
युनिकोड
जुम्ला । कान्तिका सेजुवालको राजनीतिक यात्राले फेरि राष्ट्रिय ध्यान आकर्षित गरेको छ । नेपाली कांग्रेस जुम्लाले प्रतिनिधिसभा, समानुपातिक र राष्ट्रिय सभाका लागि उम्मेदवार सिफारिस प्रक्रिया टुंग्याउँदै पूर्वसांसद सेजुवाललाई प्रतिनिधि सभा सदस्यका प्रमुख आकांक्षीमध्ये एकका रूपमा केन्द्रमा सिफारिस गरेको छ । जिल्ला समितिले एकल नाममा सहमति जुटाउने प्रयास असफल भएपछि सबै आकांक्षीको नाम केन्द्रमा पठाउने निर्णय गरेको नेपाली कांग्रेस जुम्लाले जनाएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि कांग्रेस जुम्लाबाट चारजनाको नाम सिफारिस गरिएको छ । जसमा पार्टी सभापति कर्ण बहादुर शाही, पूर्वसांसद कान्तिका सेजुवाल, खड्क बहादुर सेजुवाल र पूर्णप्रसाद आचार्य रहेका छन् । कान्तिका सेजुवाल नेपालको पहिलो महिला मेयरका रूपमा स्थानीय शासन र महिला नेतृत्वको इतिहासमा स्थापित नाम हो । पितृसत्तात्मक संरचना बलियो रहेको समयमै नगर प्रमुखको जिम्मेवारी सम्हाल्दै उनले महिला सहभागिता, स्थानीय विकास र सुशासनका सवाललाई राष्ट्रिय बहसको केन्द्रमा पुर्याएकी थिइन् । उनको पुनः सक्रिय राजनीतिक उपस्थितिलाई कांग्रेसभित्र अनुभवी र प्रतीकात्मक नेतृत्वको निरन्तरताका रूपमा हेरिएको छ । त्यसैगरी समानुपातिक तर्फ १४ जनाको नाम सिफारिस गरिएको छ । जनजाति तथा पिछडिएको क्षेत्रबाट पूर्वमन्त्री दिनबन्धु श्रेष्ठ, खस–आर्य समूहबाट धनबहादुर बस्नेत, गोविन्द बहादुर शाही, पुरिचन्द्र देवकोटा, लक्ष्मी प्रसाद आचार्य र परेकलाल घर्ती रहेका छन् । दलिततर्फ गोरख बहादुर सुनार, महिला तथा दलिततर्फ माया नेपाली, महिलातर्फ नेत्र कला शाही र नविना के.सी. बडुवाल तथा अन्यतर्फ कर्णजंग हमाल, जयन्ती आचार्य, लाल बहादुर जिसी र रज्जब अलि मनिहारको नाम सिफारिस गरिएको छ । यस्तै राष्ट्रिय सभाका लागि पनि चारजनाको नाम केन्द्रमा पठाइएको छ। काँग्रेस कर्णाली प्रदेश सभापति ललितजंग शाही, पूर्वमन्त्री भक्त बहादुर रोकाया, भिमनिधि हमाल र सुमन बुढा बस्नेत राष्ट्रिय सभाका उम्मेदवारका आकांक्षीका रूपमा सिफारिस भएका छन् । कान्तिका सेजुवालको नाम पुनः सिफारिस हुनु केवल व्यक्तिगत राजनीतिक पुनरागमन मात्र नभई नेपाली राजनीतिमा महिला नेतृत्वको ऐतिहासिक योगदान र त्यसको निरन्तरताको सन्देशका रूपमा समेत हेरिएको छ ।