सोसल मिडिया
Contact Us
युनिकोड
जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले पुस ४ गते प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गरेका छन् । मंसिर १९ गते मुख्यमन्त्री नियुक्त भएका यादवले सरकारको औपचारिक स्थायित्वका लागि विश्वासको मत लिन लागेका हुन् । सात राजनीतिक दलको समर्थनमा यादव मुख्यमन्त्री बनेका हुन् ।कांग्रेस, जसपा नेपाल, जनमत पार्टी, लोसपा, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीका गरी ७७ जना सांसदको समर्थनमा उनले सरकारको नेतृत्व गरिरहेका छन् । विश्वासको मत अघि मुख्यमन्त्री यादवले मन्त्रिपरिषद् विस्तारको गृहकार्य थालेका छन्। हाल सरकारमा मुख्यमन्त्री यादवसहित जनमत पार्टीका महेश प्रसाद यादव, कांग्रेसका जंगीलाल राय र नेकपा (एकीकृत समाजवादी) का कनिष पटेल मन्त्रीका रूपमा रहेका छन् । यद्यपि सरकारलाई समर्थन गरेका लोसपा, जसपा नेपाल र नागरिक उन्मुक्ति पार्टी भने हालसम्म मन्त्रिपरिषद्मा सहभागी भएका छैनन् ।
लोसपा र माओवादीबाट थपिए एक–एक मन्त्री
मधेश प्रदेश सरकारको मन्त्रिपरिषद् विस्तार भएको छ । सोमबार बिहान बसेको सातदलीय गठबन्धनको बैठकले सरकार विस्तार गर्ने सहमति गरेको थियो । मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा दुई जना नयाँ मन्त्री नियुक्त भएका छन् । लोसपाबाट रानी कुमारी तिवारी शिक्षा तथा संस्कृति र माओवादी केन्द्रबाट जवाहरलाल कुश्वाहा ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्री बनेका छन् । प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णबाट नयाँ दुवै मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । यस्तै, गत २१ मंसिरमा बिनाविभागीय मन्त्री नियुक्त भई शपथ लिएका कांग्रेसका जंगीलाल रायले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नेकपा एसका कनिष पटेललाई उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयको जिम्मेवारी दिइएको छ । जनमत पार्टीका महेशप्रसाद यादवले यसअघि नै अर्थ मन्त्रालयको जिम्मेवारी पाएका थिए । यससँगै मधेश प्रदेश सरकारको मन्त्रिपरिषद् ६ सदस्यीय बनेको छ। अहिले मधेश सरकारमा कांग्रेसका मुख्यमन्त्री र एक मन्त्री, नेकपा एस, जनमत पार्टी, लोसपा र माओवादी केन्द्रका १–१ जना सहभागी छन् । जसपाबाट अहिलेसम्म कोही सरकारमा सहभागी छैनन् । गत मङ्सिर १९ गते सातदलीय गठबन्धनको समर्थनमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव मुख्यमन्त्री नियुक्त भएका थिए ।