सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । गत भदौ २३–२४ गतेको जेन–जी पुस्ताको आन्दोलनका क्रममा करिब ८४ अर्ब ४५ करोड ७७ लाख रूपैयाँ बराबरको भौतिक संरचनामा क्षति भएको छ । क्षतिग्रस्त सरकारी संरचना पुनर्निर्माणमा ३६ अर्ब ३० करोड रूपैयाँ लागत लाग्ने अनुमान सरकारी प्रतिवेदनमा गरिएको छ । जेन–जी आन्दोलनमा भएको क्षतिको मूल्याङ्कन तथा सार्वजनिक संरचनाको पुनःनिर्माण योजना तयार गर्न गठित समितिले बिहीबार प्रधानमन्त्री सुशीला कार्कीसमक्ष बुझाएको प्रतिवेदनमा भौतिक संरचनाअन्तर्गत दुई हजार १६८ संघसंस्था तथा निकाय प्रभावित भएको उल्लेख छ । राष्ट्रिय योजना आयोगका सचिवको संयोजकत्वमा गठित समितिले ७५ दिनमा आफ्नो प्रतिवेदन सरकारसमक्ष बुझाएको हो । प्रतिवेदनमा भनिएको छ, ‘समग्रमा हेर्दा ८४ अर्ब ४५ करोड ७७ लाख रुपैयाँ बराबरको भएको समितिको मूल्याङ्कन छ ।’ आन्दोलनमा सातै प्रदेशमा क्षति भएको थियो । ५४ जिल्ला र २६२ वटा स्थानीय तहमा क्षति भएको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनअनुसार भदौ २३ गते २० जना, २४ गते ३७ जना र त्यसपछि २० जना गरी कूल ७७ जनाको ज्यान गएको छ । दुई हजार ४२९ जना घाइते भएकामा १७ जना १३ वर्षमुनिका छन्, १३ देखि २८ वर्षका एक हजार ४३३ जना घाइते भएका छन् । १२ हजार ६५९ वटा सवारीसाधन क्षतिग्रस्त हुँदा १२ अर्ब ९३ लाख ६१ हजार रूपैयाँ बराबरको नोक्सान हुनुका साथै सरकारीरसार्वजनिक क्षेत्रको ४४ अर्ब ९३ करोड ७३ लाख रूपैयाँ बराबरको क्षति पुगेको छ । त्यसैगरी, दुई हजार ६७१ भवनमा भएको क्षति मूल्याङ्कन ३९ अर्ब ३१ करोड ७५ लाख रूपैयाँ बराबर रहेको छ । ‘सामुदायिक तथा अन्य क्षेत्रको पाँच अर्ब ९७ करोड १७ लाख रुपैयाँ बराबरको क्षति भएको छ, निजी क्षेत्रको क्षतिको मूल्याङ्कन ३३ अर्ब ५४ करोड ८७ लाख रुपैयाँ बराबर र सरकारी क्षतिमा तीन तहमध्ये सङ्घीय सरकारको ६८ प्रतिशत छ भने प्रदेश र स्थानीय तहको क्रमशः १० र २२ प्रतिशत छ’, प्रतिवेदनमा भनिएको छ । सरकारी–सार्वजनिक क्षेत्रमा ४४ अर्ब ९३ करोड ७३ लाख बराबर क्षति पुगेको, निजी क्षेत्रको क्षतिको मूल्याङ्कन ३३ अर्ब ५४ करोड ८७ लाख बराबर र सामुदायिक तथा अन्य क्षेत्रको पाँच अर्ब ९७ करोड १७ लाख बराबर क्षति भएको जनाइएको छ ।