जय मातृभूमि पार्टीका नेतासँग प्रधानमन्त्रीले भनिन् : एजेन्डा लिएर चुनावमा जानुहोस

बिहीबार, मंसिर २५, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष जय मातृभूमि पार्टीको एक प्रतिनिधिमण्डलले भेट गरी ज्ञापनपत्र बुझाएको छ । उक्त पार्टीले केवल चुनावको तयारीमा मात्र नलागी सरकारले सुशासनको मूल कार्यादेशमा केन्द्रित हुनुपर्ने धारणा राखेको छ । प्रतिनिधिमण्डलमा पार्टीका वरिष्ठ नेता क्याप्टेन केबी लिम्बू, सहअध्यक्ष रामशरण पाण्डे, महासचिव गोविन्द गिरीलगायत रहेका थिए । पार्टीले निर्वाचनको वातावरण बनाउन जेनजी आन्दोलनका दमनकारी र भ्रष्टाचारीमाथि शीघ्र कारबाही हुनुपर्ने माग पनि राखेको छ । यो सरकारको मूल मुद्दा नै भ्रष्टाचारविरुद्धको कारबाही रहेकाले यसैमा केन्द्रित रहेर आफ्ना काम–कारबाही अघि बढाउनुपर्ने यस पार्टीको माग छ । उक्त कार्यक्रममा प्रधानमन्त्री कार्कीले उक्त दललाई आफ्ना एजेन्डा लिएर चुनावमा जान सुझाव दिइन् । भ्रष्टाचारविरुद्धको कारबाहीलाई पनि सँगसँगै अघि बढाइरहेको उनको भनाइ थियो । यहाँ राजनीति गर्नेहरुले केवल भाषण गरेर विचार मात्रै पोख्ने गरेकाले अब मुलुकमा उत्पादनलाई केन्द्रमा राखेर काम गर्ने पार्टीको आवश्यकता रहेको पनि बताइन् । ‘खाली विचार मात्र पोख्ने दल धेरै भए । काम र रोजगारीमा केन्द्रित रहेर काम गर्ने भएनन्। यही कारण मुलुकको आर्थिक अवस्था कमजोर भयो । रोजगारीका अवसर मुलुकमा भएनन् । विदेश पलायन हुनुपर्ने बाध्यता बन्यो’ उनले भनिन्, ’यसको परिणाम के भयो भन्दा युवामा वितृष्णा बढ्यो। आन्दोलन भयो। अब यस्तो आन्दोलन हुनु नपर्ने गरी काम गरौँ ।’

प्रकाशित मिति: बिहीबार, मंसिर २५, २०८२  १८:५३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार