सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेपाली काँग्रेसको ‘क्रियाशील सदस्यता व्यवस्थापन समिति’ले २९ मंसिरको मध्यरातमा सदस्यता नवीकरण प्रविष्ट गरिने प्रणाली ‘लक’ गर्ने भएको छ । महामन्त्री गगन थापा संयोजकत्वमा रहेको समितिको बिहीबार बसेको बैठकले २९ मंसिर राति १२ बजेदेखि क्रियाशील सदस्यता नवीकरण प्रविष्ट गरिने प्रणाली ‘लक’ गर्ने निर्णय गरेको हो । समिति सदस्य प्रकाश रसाइली ‘स्नेही’ ले भने, ‘मंसिर २९ गते राति १२ बजे सिस्टम लक हुन्छ । त्यसपछि जिल्लाले ईन्ट्री गर्न पाउँदैनन् ।’ समितिले नवीकरणको ‘डाटा इन्ट्री’ का लागि ७७ वटै जिल्ला सभापतिहरूलाई ‘आईडी’ र ‘पासवर्ड’ उपलब्ध गराएर काम गरिरहेको छ । समितिले आगामी आइतबार बैठक बसेर पार्टीका विदेशस्थित जनसम्पर्क समितिका क्रियाशील सदस्यताको अवस्थालगायतको विषयमा निर्णय गर्ने सदस्य रसाइलीले जानकारी दिए । ‘आइतबार जनसम्पर्क समितिका क्रियाशील सदस्यताको अवस्था, तलबाट प्रतिवेदन लिएर समीक्षा गरेर आगामी कदमबारे निर्णय गर्छौँ,’ उनले भने । समितिले यसअघि गरिएको परिपत्रअनुसार नयाँ क्रियाशील सदस्यता वितरण भए(नभएको बारे जानकारी लिने पनि निर्णय गरेको छ । जसका लागि केन्द्रीय कार्यालयका सात जना सहसचिवहरू खटाउने निर्णय गरिएको छ । ‘नयाँ क्रियाशील सदस्यता फारम २५ प्रतिशत र ७५ प्रतिशत दुई पटक गरी पठाएका छौँ । परिपत्र गर्दा हामीले वडा, गाउँनगर, प्रदेश क्षेत्रीय सभापतिहरूको बैठक राखेर वितरण गर्ने भनेका छौँ,’ रसाइलीले भने, ‘त्यो कार्यान्वयन भइरहेको छ कि छैन भनेर सचिवालयबाट सात जना सहसचिवहरूले चेक गर्नुहुन्छ। हामी पनि चेक गर्छौँ ।’