सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । स्वयंसेवी तथा गैर–नाफामुखी परोपकारी संस्था हेल्प नेपाल नेटवर्कले यस वर्ष शिक्षा, स्वास्थ्य, राहत–उद्धार, बाल संरक्षण तथा महिला सशक्तिकरणका क्षेत्रमा देशभर प्रभावकारी काम गरेको वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ । संसारभर छरिएर रहेका नेपालीहरुद्वारा ‘नेपालका लागि नेपाली’ भन्ने मूल नाराका साथ स्थापित उक्त संस्थाले दुर्गम भेगदेखि शहरी बस्तीसम्म गरेको उल्लेखनीय कामहरुको प्रतिवेदन सार्वजनिक गरेको हो । संस्थाले यसबर्ष शिक्षा क्षेत्रमा सिन्धुपाल्चोक, दोलखा, दोल्पा, धुलिखेल, डोटी, प्युठान, रसुवा, आछाम, बैतडी लगायतका जिल्ला लक्षित गरी पुस्तकालय, शौचालय, खानेपानी संरचना निर्माण, शिक्षक तलब सहयोग, शैक्षिक सामग्री वितरण र ई–लाइब्रेरी स्थापना जस्ता कार्यहरु गरेको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै, सिपाटिङघरे संस्कृत माविमा पुस्तकालय भवन, राजकुलेश्वर आधारभूत विद्यालयमा शिक्षक तथा केयरटेकरको वार्षिक तलब, पञ्चकन्या विद्यालयका चार शिक्षकका लागि तलब–सहयोग, धुलिखेल बालगृहमा डिजिटल पुस्तकालय, तथा २०० भन्दा बढी बालबालिकालाई न्यानो कपडा–झोला वितरण गरेको संस्थाले जनाएको छ । स्वास्थ्य सेवा क्षेत्रमा पनि प्रभावकारी काम गरेको प्रतिवेदनमा उल्लेख छ । मुगु जिल्लामा सञ्चालनमा रहेको हेल्प नेपाल स्वास्थ्य चौकी मुर्माले वर्षेनी २००० भन्दा बढी स्थानीय बासिन्दालाई प्राथमिक र आपतकालीन उपचार प्रदान गरेको छ। यस्तै, बर्दियाको नगर अस्पताललाई अत्यावश्यक स्वास्थ्य उपकरण एवम अन्य सामग्री हस्तान्तरण गरेको छ । यता, तिलगंगा आँखा अस्पतालसँग सहकार्यमा आँखा शिविर, तथा एचपीभी खोप अभियान संचालन गरेको जनाएको छ । बाजुरा जिल्लामा ६०० महिला–किशोरीका लागि निःशुल्क स्यानिटरी प्याड वितरण योजना पनि घोषणा गरेको छ । आपतकालीन राहत–उद्धार क्षेत्रमा संस्थाले दोलखा, म्याग्दी, सिन्धुपाल्चोक, इलामलगायतका बाढी–पहिरोपीडित क्षेत्रमा टेन्ट, टार्पोलिन, खाद्यान्न, औषधि, अस्थायी आवास र आपतकालीन सामग्री वितरण गरेको छ ।जाजरकोट, रुकुम पश्चिम, बाजाङका भूकम्प–पीडितलाई खाना, ट्रिपाल, कम्बल र औषधि समेत वितरण गरेको छ । दाङ र तनहुँका बालबालिकालाई न्यानो कपडा वितरण संस्था–द्वारा सञ्चालित मानव–केन्द्रित सेवा संचालन गरेको छ । संस्थाले बालगृहका २४ बालिकाको दीर्घकालीन संरक्षणको काम गरिरहेको पनि जनाएको छ । धुलिखेल हेल्प नेपाल बालगृहमा आश्रित २४ बालिकाको शिक्षा, स्वास्थ्य, आवास र जीवन–कौशलका कार्यक्रम निरन्तर सञ्चालन गरेको प्रतिवेदनमा उल्लेख छ । वालगृहमै बसेर यस वर्ष एसईई मा उत्कृष्ट नतिजा र कक्षा १२ मा ३.२४ जीपीए ल्याई सिता सिंह संस्थाका लागि गौरव बनेको प्रतिवेदनमा उल्लेख छ । सामाजिक लेखापरीक्षण, सार्वजनिक सुनुवाइ र कानुनी सचेतना सत्र संस्थाको पारदर्शिता–प्रति उच्च प्रतिबद्धताको सूचकका रूपमा उल्लेख गरिएको छ। संस्थाका प्रवक्ता तथा पूर्व वीवीसी नेपाली सेवाका पत्रकार भगिरथ योगी भन्छन्, ‘पीडामा परेका मानिसहरूको आँखामा अजम्बरी अपेक्षा हुन्छ, हेल्प नेपाल त्यही अपेक्षाको बीच उभिन सक्ने संस्था हो। मैले पत्रकारितामा धेरै संवेदनशील क्षण देखेँ, तर यहाँ हजारौं साधारण मानिसको असाधारण उदारता देख्दा मानवता अझै बाँचेको छ भन्ने दृढ विश्वास पलाउँछ ।’ संस्थाको उल्लेख्य प्रगतिप्रति संस्थाका अध्यक्ष अरुण सिंह बस्नेतले भने्, ‘हेल्प नेपाल नेटवर्क यो हजारौं स्वयंसेवकको मन, समय र कर्मले बटुलेको जीवन–उद्धार अभियान हो।हामी रात–दिन देशभरका कठिन भूगोलमा काम गर्न सक्षम हुनु विदेशी भूमिमा बसेका नेपालीहरूको निरन्तर आशीर्वादको परिणाम हो। आगामी वर्ष हामी अझ प्रभावकारी कार्यक्रमसँग अघि बढ्नेछौँ।’ हेल्प नेपाल नेटवर्कको अन्तर्राष्ट्रिय नेतृत्व सम्हालेका स्वयंसेवक डिला खरेलले संस्थाको प्रगतिमो विश्वभरका मनकारी नेपालीहरुको साथ रहेको उल्लेख गरे । उनले भने, ‘हामी विदेशमा बस्छौँ, तर हाम्रो मुटु अझै नेपालकै लागि धड्किन्छ। हेल्प नेपाल नेटवर्कको प्रत्येक गतिविधि हाम्रो सामूहिक करुणा र उत्तरदायित्वको प्रतिरूप हो। सानो–सानो सहयोगले कसैको जीवनमा अकल्पनीय परिवर्तन ल्याइदिन्छ भन्ने विश्वासले हामीलाई हरेक वर्ष अझ दूर–दराज पुग्ने प्रेरणा दिन्छ ।’ यसैगरि स्वयंसेवक खरेलले हेल्प नेपाल नेटवर्कले विश्वभरका नेपाली समुदायलाई सेवा, परोपकार र स्वयंसेवालाई जीवनशैलीका रूपमा अंगीकार गर्न आह्वान समेत गरेका छन ।